काठमाडौं, २१ फागुन । राष्ट्रियसभाले दुई वर्षे कार्यकाल समाप्त भएका १९ जना सांसदको मंगलबार बिदाई गरेको छ। सत्तासीन नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल मंगलबार सकिएको हो।
५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाई सांसदको कार्यकाल समाप्त हुने गरी गोला हालिएको थियो। राष्ट्रियसभाले मंगलबारको बैठकमा कार्यकाल समाप्त हुन लागेका सबै सांसदलाई अनुभव साट्न बोल्ने समय दिएको थियो। राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले दुई वर्षे कार्यकालमा आफूले विपक्षी दलको नेता भएको महसुस कहिल्यै नगरेको अनुभव सुनाए। प्रतिनिधिसभामा विपक्षी कांग्रेसले अवरोध गर्ने गरे पनि राष्ट्रियसभाका अधिकांश बैठकले अवरोधको सामना गर्नु परेन। आफ्नो अनुभव नराखेका खतिवडाले मन्त्रीमा रूपमा पुनः निरन्तरता पाउने सम्भावना छ।
तर राष्ट्रिय सभामा खतिवडा वा वामदेव गौतममध्ये कसलाई पठाउने भन्नेमा नेकपा भित्र विवाद छ। राष्ट्रियसभामा विपक्षी दलका नेता पाण्डे, प्रमुख सचेतक सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल समाप्त भएको हो। यस्तै नेकपाका बलराम बाँस्कोटा, हरिचरण शिवाकोटी, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पनि कार्यकाल सकिएको हो।
राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल मंगलबार नै समाप्त भएको छ। राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले विपक्षी कांग्रेसका दलका नेता र प्रमुख सचेतकको कार्यकाल एकैपटक समाप्त हुन लागेकोमा आफूलाई दुःख लागेको बताए। प्रमुख सचेतक प्रसाईंले भने सरकारलाई जनताका पक्षमा काम गर्न सुझाव दिएर विदाई भइन। बिदाई भएका सांसदको मंगलबार सामूहिक तस्बिर खिचिएको थियो। (अन्नपूर्ण पोष्ट्बाट)