Logo

सुदूरपश्चिम प्रदेशका सांसद रावलमाथि बलात्कार प्रयासको आरोप, प्रहरी नियन्त्रणमा



फागुन २१, काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका सांसद अक्कल रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिलामाथि बलात्कार गर्न खोजेको आरोप उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रावलविरुद्ध एक महिलाले उजुरी गरेकी थिइन् । उजुरीपछि प्रहरीले खोजिरहेका बेला उनी आफै प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।

रावल अछाम क्षेत्रनम्बर २ को ‘ख’ बाट निर्वाचित नेकपाका सांसद हुन् । पार्टी एकता भन्दा पहिले तत्कालिन माओवादीको प्रमुख सचेतक रहेका रावल एकतापछि उनी नेकपा संसदीय दलको सचेतक भएका हुन् ।

धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीकी एक विवाहित महिलाले रावलमाथि बलात्कार प्रयासको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा फागुन १४ गते उजुरी दिएकी थिइन् । पीडित महिलाले उजुरी दिएको एक सातापछि रावललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जाहेरीमा पीडित भनिएकी महिलाले आफूमाथि माघ २१ गते रावलले बलात्कारको प्रयास गरेको आरोप लगाएकी छन् । प्रहरीले फागुन १५ गते नै रावललाई पक्राउ गर्न अनुमति लिएको थियो । आफूविरुद्ध परेको उजुरीको बिषयमा बुझ्न भन्दै रावल बुधबार आफैं जिल्ला प्रहरी कार्यालय कैलाली पुगेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी हिसासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्