Logo

भीम अस्पतालको गुरुयोजना स्वीकृत



काठमाडौँ, २२ फागुन । भैरहवास्थित भीम अस्पतालले नयाँ गुरुयोजना तयार गरेको छ । नयाँ गुरुयोजनाको डीपीआर प्रदेश ५ सरकारले स्वीकृत गरेको छ । बुधबार प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराललाई गुरुयोजना हस्तान्तरण गर्दै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले अब अस्पतालको मुहार फेरिने बताएका छन् ।

गुरुयोजना अनुसार अस्पतालको मुख्य भवनमा एक सय शय्या रहनेछन् । मुख्य भवन तीन तलाको हुने छ । त्यस्तै २५ शøयाको छुट्टै प्रसूति गृह पनि निर्माण गरिने छ । गुरुयोजना अनुसार संरचना बनाउन ३६ करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । त्यस्तै आकस्मिक कक्ष, बच्चाका लागि एनआईसीयू, पेड्रियाट्रिक वार्ड, सर्जरी वार्ड, मेडिकल वार्डलगायतका संरचना रहने छन् । त्यस्तै अस्पतालको बाहिरपट्टि ल्यान्डस्केपमा पार्किङका साथै छुट्टै ग्रिनरी पार्क निर्माण गरिने छ । पोस्टमार्टमका लागि छुट्टै गृह र स्टाफ क्वाटर पनि निर्माण गरिने छ । अस्पतालमा सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि अस्पताल विकास समितिले अत्याधुुनिक भवनको डिजाइनसहितको गुरुयोजना बनाएको हो ।

गुरुयोजना अनुसार अब एक महिनाभित्रै डीपीआर तयार गरिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. दर्नालले बताएका छन् । गुरुयोजना अनुसार संरचना बनेपछि यो अत्याधुनिक र नमुना अस्पताल बन्ने छ, बिरामीले यहीँबाट विशेषज्ञ सेवासहितको उपचार पाउने छन्, उनले बताए । सामाजिक विकास मन्त्रालयका सचिव डा. गोपीकृष्ण खनालले डिजाइन र स्तरीय सेवा सुविधाका दृष्टिकोणले भीम अस्पताल नमुना बन्ने बताएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्