Logo

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल : स्वास्थ्य अवस्था खतरामुक्त



काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको छ। ६९ वर्षीय ओलीको त्रिवि शिक्षण अस्पतालमा झन्डै पाँच घण्टा लगाएर सफल प्रत्यारोपण गरिएको हो। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको बताए।

प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान दिएकी हुन्। ३२ वर्षीया संग्रौलाको स्वास्थ्य स्थिति सामान्य रहेको निर्देशक डा. खड्गाले जानकारी दिए। ओलीको ०६४ सालमा पहिलोपटक भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई सोमबार साँझ अस्पताल भर्ना गरिएको थियो। संग्रौलाको बायाँ मिर्गौला झिकेर ओलीलाई बायाँपट्टि प्रत्यारोपण गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने ओली नवौं व्यक्ति हुन्।

स्वास्थ्य अवस्था स्थिर

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर छ। उनलाई शल्यक्रिया गरेको झन्डै एक घण्टापछि अति सघन उपचार कक्ष (आईसीयूमा) मा सारिएको थियो। कार्यकारी निर्देशक खडगाले भने, ‘सबै स्वास्थ्य सूचकांक राम्रो अवस्थामा छन्।’ प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण कक्षमा राखी उपचारलाई निरन्तरता दिइने डा. खड्गाले जानकारी दिए। उनलाई सातदेखि १० दिनसम्म अस्पतालमै राख्नुपर्ने प्रत्यारोपणमा संलग्न एक चिकित्सकले बताए। उनले भने, ‘कम्तीमा एक साता अस्पतालमै रहनुपर्ने हुन्छ। प्रत्यारोपणपछि शरीरले ग्रहण गरेको नयाँ मिर्गौलाले के कसरी कार्य गर्छ, त्यसमा भर पर्छ।’ अघिल्लोपल्ट प्रत्यारोपित मिर्गौलाले काम गर्न नसकेपछि ओलीले डायलासिस गराउँदै आएका थिए। अहिले प्रत्यारोपणका क्रममा पहिलेका तीनवटा मिर्गौला शरीरमै छोडिएको छ। अब ओलीको शरीरमा ४ वटा मिर्गौला भएका छन्। पहिलोपल्ट प्रत्यारोपण गर्दा दायाँतिर राखिएको थियो भने अहिले बायाँतिर राखिएको छ।

उत्साहित सर्जन

प्रत्यारोपणमा संलग्न सर्जन एवं चिकित्सक उत्साहित देखिएका छन्। बिहान १० बजेतिर प्रधानमन्त्री ओलीलाई अप्रेसन थिएटरभित्र लगिएको थियो। सुरुमा शल्यक्रिया गरेर संग्रौलाको मिर्गौला झिकिएको थियो। त्यसपछि ओलीको शरीरमा प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपण भएलगत्तै पिसाब लागेपछि वरिष्ठ युरोलोजिस्ट एवं प्रत्यारोपण सर्जन प्रा.डा. प्रेम ज्ञवाली प्रसन्न देखिन्थे। उनले भने, ‘बधाई छ, सबैलाई। हामी खुसी र उत्साहित भएका छौं।’ प्रत्यारोपणमा शिक्षण अस्पतालका युरोलोजी विभागका विभागीय प्रमुख तथा वरिष्ठ युरोलोजिस्ट एवं प्रत्यारोपण सर्जन प्रा.डा. उत्तमकुमार शर्माले नेतृत्व गरेका थिए। अन्य चिकित्सकमा विभागका पÒर्वविभागीय प्रमुख डा। प्रेम ज्ञवाली र भारतबाट आएका डा. अनन्त कुमार लगायत थिए।

डा. अनन्त ओलीलाई पहिलोपटक प्रत्यारोपण गर्दा संलग्न थिए। प्रत्यारोपण चिकित्सा टोलीमा नेफ्रोलोजीतर्फ प्रा.डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली सहभागी रहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ एनेस्थेसियोलोजी विभागका विभागीय प्रमुख डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्यलगायत सहभागी थिए। मिर्गौला प्रत्यारोपण गर्न झन्डैै पाँच घण्टा लागेको थियो। यस्तै शिरा र धमनी जोड्न ३९ मिनेट लागेको थियो। (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्