Logo

अर्थतन्त्रमा कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल



काठमाडौं, २२ फागुन । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ। कोरोना भाइरस अहिलेसम्म ७० भन्दा बढी मुलुकमा फैलिएको छ।

अर्थतन्त्रबारे अध्ययन–अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय निकायहरुले कोरोना भाइरसका कारण यो वर्ष विश्व अर्थतन्त्रमा करिब १.५ प्रतिशत विन्दुले कमी आउने अनुमान गरेका छन्। नेपालको अर्थतन्त्रको आकार सानो छ। तर कोरोनाबाट अतिप्रभावित चीनलगायत अन्य मुलुकसँगको व्यापारिक, आर्थिक र सामाजिक सम्बन्धका कारण नेपालको आर्थिक वृद्धिदरमा पनि असर पर्ने भएको हो। चालु आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धिको सरकारी लक्ष्य छ। सरकारले सोचेजस्तो आर्थिक गतिविधि नबढेका कारण वृद्धिदर ६ प्रतिशत हाराहारीमा खुम्चिने अनुमान यसअघि नै गरिएको छ। कोरोनाका कारण गैरकृषि क्षेत्रमा पर्ने प्रभावले आर्थिक वृद्धिमा थप शंकुचन आउने देखिएको हो। नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा गैरकृषि क्षेत्रको अंश ७३ प्रतिशत छ।

अर्थ मन्त्रालयका अधिकारी यो समस्या लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल पुग्ने अनुमान गर्छन्। यो वर्ष कृषि क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा रहेको धान उत्पादन घटेको छ। अन्य मौसमी कृषि उत्पादन पनि धेरै बढ्न नसकेको अवस्था छ। यस्तो अवस्थामा कोरोना समस्या लम्बिदै गए गैरकृषि क्षेत्रमा हुने गडबडीले आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल हुने दाबी उनीहरुको छ। (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot