Logo

आफ्नो मृगौलाले प्रधानमन्त्री ओलीलाई १५ वर्ष पनि काम नदिएकोमा दुःखी अञ्जान



काठमाडौँ, २२ फागुन। आज भन्दा झण्डै १२ बर्ष अघि आफ्नो एउटा मिर्गौला दिएर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बचाएकी अञ्जान घिमिरे ओलीलाई ओलीको दोस्रो प्रत्यारोपण सफल भएकोमा जति खुसि लागेको छ त्यतिनै दुखी पनि छिन् उनी । उनले दिएको मिर्गौलाले काम गर्न छाडेपछि नातामा भान्जी पर्ने समिक्षा संग्रोलाको मिर्गौला अहिले प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको हो ।

२१ वर्षको उमेरमा नाताले जेठाजु र एकै परिवार भएपनि नाताका लागि नभएर देशका लागि आफुले मिर्गौला दिएको अञ्जानले नेपाली रेडियो नेटवर्ककको कुरा कानिमा बताइन् । उनले भनिन्,‘उहाँले राजनीतिमा लागेर धेरै संघर्ष गरिसक्नुभएको थियो । देशका लागि काम गर्छु भन्ने उहाँमा जोलो जोस र जागर थियो । त्यसैले उहाँले मेरो मिर्गौला फेल भयो अब के गर्ने भनेपछि मैले एक्कासी म दिन्छु भने र दिएँ’ ।
उनले भनिन्,‘मलाई कसैले आग्रह गरेको होइन । उहाँ बिरामी भएर सुतेको जुन अवस्था थियो, उहाँलाई कसरी सहयोग गर्न सकिएला भन्ने भाव मभित्र स्वतस्फुर्त जागेर आयो । उहाँलाई के भएको भनी सोध्दा किड्नी फेल भएछ भन्नुभयो । मैले तत्कालै ‘मिल्छ भने त तपाईंका लागि म आफ्नो किड्नी दिन्छु नि’ भनेँ । उहाँले ‘तँ सानै छेस् के दिन्छेस्’ भन्दै हाँसोमा उडाउनुभयो । मैले म सानै उमेरकी भए पनि मिल्छ भने दिएरै छोड्छु, जँचाएर हेर्नुप¥यो भनेर जिद्दी गरेँ । आखिर जाँच गर्दा मिल्ने नै भयो । मेरो रगत ‘ओ पोजेटिभ’ उहाँको ‘ओ नेगेटिभ’, तर ‘ओ’ मिलेपछि किड्नी दिन मिल्नेरहेछ ।

अस्पताल भर्ना हुनु एकदिन अघि बालुटारमा गएर प्रधानमन्त्रीलाई भेटेको उनि बताउँछिन । प्रधानमन्त्री ओलीसंग उनले दुखेसो पोख्दै भनिन्‘ मैंले तपाईलाई १५ वर्ष पनि बचाउन सकिन’ आफुले दिएको मिर्गौलाबाट ओलीलाई १५ वर्ष पनि बचाउन नसेकेकोमा दुख लागेको छ अञ्जानलाई । अझै तिन वर्ष सहज रुपमा काम गरिदिएको भए देश र जनताका लागि ओलीले सहज रुपमा काम गर्न सक्ने उनको बुझाई हो ।

कुराकानीका क्रममा अञ्जानले भनिन्,‘ मैले परिवारको मान्छे भनेर मिर्गौला दिएको हैन । नेपाल र नेपालीको सुखद भविश्वका लागि दिएको हो । दोस्रो मिर्गौला प्रत्यारोपण पछि मैले उहाँसंग भेट गर्न पाएको छैन् । तर, सफल भएको खबरले धेरै खुसी छु’ । अञ्जानले आफुसंग ओलीले मिर्गौल नमागेको र भविश्यमा राजनीतिमा गएर लाभको पदमा पुग्न र आर्थिक लाभका लागि आफुले मिर्गौला नदिएको बताइन् ।
अञ्जानको जन्म चितवनमा भएको हो । २०४२ वैशाख २३ गते चितवनको केशरवाग, गीतानगरमा जन्मिएकी अन्जान अहिले राष्ट्रपति कार्यलयकी कर्मचारी हुन । उनको ०६१ माघ १९ मा हालका प्रधानमन्त्री केपी ओलीका काहिँलो भाइ ताराप्रसाद ओलीसँग मागीविवाह भएको हो । अञ्जानले १५ महिनाको छोरा हुर्किरहेको अवस्था स्वेच्छाले आफ्ना जेठाजु अर्थात् केपी शर्मा ओलीलाई किड्नी दान गरेकी थिइन् ।

अञ्जान भन्छिन,‘ उहाँलाई प्रधानमन्त्री बनाउने या बनेको हेर्ने चाहना मभित्र थियो, त्यो पूरा भएको छ । उहाँ प्रधानमन्त्री हुनुमा मैले उहाँका लागि गरेको अङ्गदानको भूमिका छ भन्ने अनुभूतिले मलाई खुसी तुल्याउँछ । जबदेखि यो देशको राजनीति अलिक बढी नै उथलपुथल हुन थाल्यो, त्यसबेलादेखि नै उहाँ प्रधानमन्त्री भइदिए सबै कुरा राम्रो होला कि भन्ने लाग्न थालेको थियो । परिवारको सदस्य हुनुभएकाले मात्र होइन, वास्तवमै उहाँ अरू नेताभन्दा फरक क्षमता या शैलीसम्पन्न हुनुुहुन्छ । उहाँको बोलाइ र कामगराइ एकदम प्रस्ट हुन्छ । भन्ने नै हो भने अरू नेताको त म त्यत्ति बुझ्दिनँ’ ।-रेडियो एनआरएनबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot