काठमाडौ, फागुन २२ । तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट मार्ग आजदेखि बन्द गरिएको छ । मानहुँकोट नजिकै रहेको पहरामा ढलान गर्नका लागि निर्माण कम्पनीले उक्त मार्ग बन्द गरेको हो । मानहुँकोट मार्ग कालोपत्रे गर्नका लागि निर्माण कम्पनी रानीवन कन्स्ट्रक्सन काठमाडौले तयारी थालेको छ । पहिलो चरणमा अप्ठ्यारो रहेको उक्त पहरामा ढलान गरिने र ढलान सम्पन्न भएपछि अन्य ठाउँमा कालोपत्रेको काम शुरु गरिने सो कम्पनीका सञ्चालक केशव ढुङ्गानाले जानकारी दिए।
सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्की अन्तर्गत निर्माण भइरहेको उक्त सडकको करीब चार सय मिटर भाग आरसीसी ढलान गर्न लागिएकोले उक्त मार्ग डेढ महीनाका लागि बन्द हुनेछ । उक्त मार्ग बन्द हुने बारे व्यास नगरपालिकाको कार्यालयलाई जानकारी गराइएको र उक्त जानकारीको बोधार्थ वडा नं ५ को कार्यालय, जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पनि दिइएको छ ।
सङ्घीय सरकारको बजेटमार्फत् मानहुँकोट जाने बाटो कालोपत्रेका लागि करीब पाँच किलोमिटर नाला निर्माण सम्पन्न भइसकेको छ । पाँच किलोमिटर सडक कालोपत्रेका लागि ग्राभेल गर्ने कामलाई समेत अगाडी बढाउन लागिएको उनले बताए । चालु आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य छ । सोही वडाको चापाघाटदेखि अलैचेसम्मको डेढ किमि सडक पहिल्यै कालोपत्रे भइसकेको छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानहुँकोटसम्म कालोपत्रे सडक भएपछि पर्यटकको सङ्ख्या थप वृद्धि हुने बताए । उक्त मार्ग बन्द भएपनि पैदलयात्रा मार्फत् मानहुँकोट जानेहरुलाई भने कुनै समस्या नरहेको उनले जानकारी दिए । “ढलान गर्न लागिएको ठाउँसम्म सवारीसाधनमै जान सकिन्छ, त्यहाँबाट १०÷१५ मिनेटको पैदलयात्रा गरेर मानहुँकोट जानलाई अवरोध हुँदैन,” उनले भने ।
पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानहुँकोट जाने कालोपत्रे भएपछि पर्यटकको सङ्ख्या अझै बढ्ने विश्वास छ । अहिले सो स्थानमा दैनिक दुई÷तीन सय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । सो स्थानबाट आँखै अगाडी पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । मानहुँकोटबाट धौलागिरी, माछापुच्छे«“ अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकोले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ ।
मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । मानहुँडाँडा आफैमा एउटा दृश्यावलोकन स्तम्भ भ्युटावर हो । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमो रु २५ लाख र वडा कार्यालयको रु पाँच लाखको लागतमा रेलिङ निर्माण गरेको छ । रासस