काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्स तथा बरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अपेक्षित सुधार र अहिले खतरामुक्त रहेको स्पष्ट पारेकी छिन्।
बिहीबार त्रि.वि. शिक्षण अस्पतालमा पत्रकारहरुसँग कुरा गर्दै डा. शाहले यस्तो बताएकी हुन् । उनले प्रधानमन्त्री ओली अझै एक साता अस्पतालमै रहनेपनि जानकारी दिईन् । आगामी एक महिनापछि प्रधानमन्त्री ओलीले भेटवार्ता पनि गर्न सक्ने उनको भनाई छ । उनले प्रधानमन्त्री ओलीलाई किड्नी दान गरेकी उनकी भाञ्जी समिक्षा संग्रौलाको समेत स्वास्थ्य अवस्था राम्रो रहेको सुनाईन् । उनले भनिन्,‘उहाँको पनि स्वास्थ्य अवस्था सुधार भएको छ ।’
उनकाअनुसार प्रधानमन्त्री डिस्चार्ज भएपछि प्रधानमन्त्रीको सरकारी निवासमा बसेर सामान्य भेटघाट गर्न सक्नेछन् । तर, सार्वजनिक कार्यक्रममा भने आगामी एक महिनासम्म नजानु उपयुक्त हुने पनि शाहले सुझाव दिईन् ।
उनले आफ्नै अनुरोधमा भारतीय विशेषज्ञ चिकित्सक काठमाडौं आएको पनि स्पष्ट पारिन् । उनले भनिन्,‘प्रधानमन्त्री ओलीको उपचारमा म त विगत ६ वर्षदेखि मात्रै संलग्न छु । उहाँको पहिलो मिर्गौला प्रत्यारोपण भएकै १४ वर्ष भयो । त्यसैले उहाँलाई पहिले के कस्तो औषधी चलार्यएको थियो ? भनेर पनि जान्नुपर्ने भएकोले मैले नै अनुरोध गरेर उहाँहरुलाई बोलाएको हुँ ।’
यसअघि अस्पतालले एक विज्ञप्ती निकाल्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको जनाईसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ । सबै सूचक सामान्य छन् । उनलाई तरल र नरम आहार दिन शुरु गरिएको छ ।
हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जानकारी दिए। प्रधानमन्त्री ओलीलाई अङ्गदान गर्ने समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति सुधारोन्मुख भएको र उनलाई पनि तरल र नरम आहार दिन थालिएको प्रा डा खड्गाले जानकारी दिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न देशका प्रधानमन्त्री तथा देशका प्रतिनिधिबाट प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको शुभकामना आउने क्रम जारी रहेको बताएका थिए । file photo