काठमाडौँ, २३ फागुन । कोरोना भाइरस भित्रिएको पुष्टि नहुँदै मुलुकको अर्थतन्त्र चक्रव्यूहतर्फ धकेलिएको छ। यही रफ्तारमा कोरोना प्रकोप बढ्दै जाने हो भने चाँडै मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्ने चिन्ता सरकारी अधिकारीहरूले गर्न थालेको छ।
बिहीबार बिहानसम्म संसारका ८४ मुलुकमा संक्रमण फेला परेको छ। झन्डै ९६ हजारमा संक्रमण देखिएकोमा ५३ हजार ७ सय जनालाई निको भएको समाचार एजेन्सीहरूले जनाएका छन्। मृत्यु हुनेको संख्या तीन हजार ३ सय हाराहारीमा पुगेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिको मार्गप्रशस्त हुनै लागेका बेला बाह्य चुनौती सामना गर्नुपरेको बताएका छन्। राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले कोरोनाका कारण मूल्यवृद्धिमा चाप पर्ने बताए। ‘हामीले कोरोनाको प्रभाव कम गर्न पर्यटनलगायत क्षेत्रमा बैंक ऋणको पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने सुविधा दिएका छौं,’ उनले भने। राष्ट्र बैंकले तीन दिनअघि सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा यस्तो सुविधा दिने उल्लेख छ।
यस्ता सामान्य समाधानबाट चुनौती सामना गर्न ‘असम्भव’ रहेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। औषधि, खाद्यान्न, ऊर्जा, लत्ताकपडाजस्ता अत्यावश्यक वस्तुमा परनिर्भर नेपाली अर्थतन्त्र नयाँ संकटबाट प्रभावित हुने अनुमान अर्थशास्त्रीको छ। अधिकांश ठूला होटेलको ‘अक्युपेन्सी’ दर १५ प्रतिशतभन्दा कम रहेको पर्यटन व्यवसायीले बताएका छन्। यसको मतलब सय जना क्षमताको होटेलमा १५ जना पनि छैनन्। यसको असर रोजगारी, उपभोग्य वस्तु र बैंकको ऋणमा पर्छ। ट्राभल कम्पनी र वायुसेवा कम्पनीले सेवा र कर्मचारी कटौती गर्नुपर्ने अवस्था आएको बताएका छन्।
अत्यावश्यक औषधिलगायत खाद्यान्न भण्डार क्रमशः रित्तिँदै छ। चाहिनेभन्दा बढी सामान किनेर थुपार्न थालेपछि बजारमा अभाव अभाव हुन थालेको व्यवसायी बताउँछन्। पछिल्लो एक सातामा अमेरिकी डलर ३ रुपैयाँभन्दा धेरै महँगिइसकेको छ भने युरो ६ रुपैयाँ महँगिएको छ। स्वदेशी मुद्रा अवमूल्यनले आयातमा निर्भर नेपाली अर्थव्यवस्थालाई अझ समस्यामा पार्न सक्ने सरकारी अधिकारी बताउँछन्। सबैभन्दा ठूलो समस्याचाहिँ रेमिट्यान्समा हुने जोखिम हो। २०७२ सालमा भारतीय नाकाबन्दीका बेला रेमिट्यान्स आम्दानी बढ्दा महँगै भए पनि किनेर खान सक्ने क्षमता थियो। विदेशको कमाइले वित्तीय प्रणाली चलायमान बनाउन सहयोग गरेको थियो। (अन्नपूर्ण पोष्ट्बाट)