काठमाडौं, फागुन २३ । कोरोना भाइरसका कारण चीनसँगको व्यापार प्रभावित भएको व्यवसायीले बताएका छन् । चीनबाट आयात हुने मालसामानको ‘बुकिङ’ ह्वात्तै घटेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानीले बताए ।
जनवरीयता चीनबाट मालवस्तु मगाउन कुनै पनि नयाँ कन्साइन्मेन्ट ‘अर्डर’ नआएको यस लजेस्टिकका सञ्चालकसमेत रहेका टेमानीले जानकारी दिए । उनका अनुसार चीनमा कोरोना भाइरस फैलिएयता चीनबाट आयात हुने मालवस्तुको ‘बुकिङ’ ७५ प्रतिशतले घटेको छ । वैदेशिक व्यापार परिमाणका आधारमा चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार हो ।
चीनबाट औद्योगिक उपकरण, कच्चा पदार्थ, जुत्ताचप्पल, विद्युतीय सामान, दूरसञ्चार उपकरण, औषधि र यसका उपकरण, ब्याग, कपडा, खेलौनादेखि दैनिक उपभोग्य वस्तुको आयात हुन्छ ।
कोरोना संक्रमण महामारीका रूपमा फैलिएयता चीनबाट मालवस्तु मगाउन एउटा पनि नयाँ ‘डकुमेन्ट’ नआएको नेपाल फ्रेट फर्वार्डर्स एशोसिएशनका पूर्वअध्यक्ष राजन शर्माले बताए । ‘कोरोना फैलिएपछि चीनका लागि कुनै पनि नयाँ डकुमेन्ट नआएको आजको आर्थिक दैनिक अभियानमा खवर छ ।