Logo

चीन छाडेको १४ दिनपछि अमेरिका प्रवेश गर्न पाइने



क्यालिफोर्निया,फागुन २३ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना भाइरसका कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकामा यो समेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ।

अमेरिकी स्वास्थ्य अधिकारीहरूले क्यालिफोर्नियाको स्याक्रामान्टो अस्पतालमा मृत्यु भएका ती व्यक्ति ७१ वर्षका पुरुष रहेको जानकारी दिएका छन्। ती व्यक्ति हालै क्रुज जहाजको यात्राबाट फर्किएका हुन्।ह्वाइट हाउसले यस रोगको परीक्षणलाई देशव्यापी विस्तार गर्ने बुधबार जानकारी दिएको छ। अमेरिकाका १६ वटा राज्यमा करिब १५० जनामा कोरोना भाइरस देखिएको थियो।

अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वासिंटन राज्यका रहेका छन्। पछिल्लो समय यो रोग टेक्सास र नेब्रास्का राज्यमा पनि फैलिएको छ।यसैबीच वासिंटन र फ्लोरिडा राज्य दुवैले गत साता नै स्वास्थ्य आपतकालको घोषणा गरिसकेका छन्।

क्यालिफोर्नियामा मृत्यु भएका कोरोना संक्रमित वृद्ध व्यक्ति ग्रान्ड प्रिन्सेज नामको क्रुजमा यात्रारत थिए। यो जहाज सानफ्रान्सिस्को हुँदै मेक्सिको पुगेको थियो। कोरोनाको त्रास फैलिएसँगै संयुक्त राज्य अमेरिकाले चीन भ्रमण गरेका कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ। तर, चीन छाडेको १४ दिनपछि त्यस्ता यात्रुलाई अमेरिका प्रवेश गर्न दिइने गरिएको छ।



प्रतिक्रिया दिनुहोस्