Logo

निरो शैलीका नेता र सम्भावित दुर्घटना



काठमाडौं, २३ फागुन । पञ्चायती व्यवस्थामा इमानदारी देखाएका साथै व्यवस्था परिवर्तन गरेर नयाँ नेपालको उज्यालो चित्र कोर्न ज्यानको बाजी लगाएका तत्कालीन नेताको अहिलेको मुहार भने हेरिनसक्नु कुरूप बन्न पुगेको छ । उनीहरुको तत्कालीन इमानदारी, जोश र उत्साहको यतिबेला उल्टो परीक्षण हुन थालेको छ । शासनमा देखिएका बेथिती र अनियमिततालाई हेर्ने हो भने बेथिती तथा अनियमिततालाई नै लाजमर्दो पारेको स्थिति अहिले धेरै नेपालीले भोग्नुपरिरहेको छ ।

पञ्चायतको अवसानसँगै विक्रम सम्वत् २०४८ मा सुरु भएको पूर्ण प्रजातन्त्रको अभ्यासले बहुदलीय पद्धतिको निर्वाचनबाट जनताको सरकार बन्ने सुनिश्चितता गरेसँगै शासनमा सत्तापक्ष तथा सशक्त प्रतिपक्ष प्रणालीको राजनीतिक चरण सुरु भएको थियो । यससँगै जनताले परिवर्तनकारी शक्ति नेपाली काँग्रेस र एमाले वि.सं. २०४८ पछि मिलेर सहकार्य गर्दै राज्य पद्धतिमा सुशासन, पारदर्शिता र पार्टी विधिविधानबाट निर्देशित भई देशका समस्या समाधान गरून् भन्ने अपेक्षा पनि राखेका थिए । तर अपेक्षा पुरा हुनै सकेनन् । उल्टो, राजनीतिक अभ्यासमा दलगत पद्धति बस्ला र शासनको जिम्मेवारी पार्टी नेताको सामूहिक होला भन्ने सोच राखेका जनताले पटक-पटक नेतृत्वबाट धोका पाउन थालेकै परिणामले माओवादीका नाममा हिंसात्मक अशान्तिको दश बर्षे कालखण्ड देशले व्यहोर्नुप¥यो । माओवादीका नाममा चलाइएको हिंसात्मक अशान्तिको समाप्तिलगत्तै तराईमा आगो लाग्यो– जसले २०६२÷६३ ताका देशमै बबण्डर सिर्जना गरिदियो । यससँगै स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा अब भने विगतमा देखिएका बेथिति, विभिन्न समुदायमाथि हुँदै आएका अन्याय अत्याचारलगायतका सबै विकृति निर्मूल हुने अपेक्षा नेपालीमा थियो । तर अहिले पनि राजनीति पुरानै ढर्रामा हिंडिरहेको छ ।

परिवर्तित राजनीतिक व्यवस्थाले हिजोआज गर्दै आएका राजनैतिक अभ्यासलाई हेर्ने हो भने, पार्टी भनेकै नेता, नेता भनेकै सत्ता, सत्ता भनेकै मनमौजी निर्णय हो भन्ने सन्देश दिन थालेको छ । राज्यको साधनस्रोतमा देखिएको ब्रह्मलुट र कुशासनको उग्र प्रयोगले वर्तमान शासन व्यवस्थाप्रति नै जनता र राजनीतिमा लागेका केही इमानदार समूहको वितृष्णा बढ्दै जानुले पुनः देश अस्थिर राजनीतिको चपेटामा त पर्ने हैन भन्ने प्रश्नले टाउको उठाउन थालेको देखिन थालेको छ ।

वि.सं. २०४७ मा पञ्चायत फ्यालेर बहुदलीय प्रजातन्त्रको अभ्यास गर्दै २०६३ बाट संघीय गणतान्त्रिक लोकतन्त्रको अभ्यासमा लागेको नेपाल २०७६ को अन्त्यसम्म आइपुग्दा देशको मूलधारको राजनीति कब्जा गरेर बसेका राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नै स्पष्ट हुन सकेको छैन । सुशासनका आधार समाप्तिको बाटोतर्फ धकेलिएका छन्– जसले सत्तामा अपराधीकरणलाई बढावा दिएको छ । बेथितीकै श्रृंखलाका रूपमा दलमा पूर्ण दासता, जीहजुरी र पञ्चायतकालीन अपराधले समेत लाज मान्नुपर्ने स्थिति यतिबेला राज्यको डाडुपुन्यू लिएर बस्ने व्यक्तिबाटै सिर्जना हुन थालेको छ ।

देशमा आमूल राजनीतिक परिवर्तनको नारासहित माओवादीले विगतमा थालेको हिंसात्मक राजनीति शान्तिप्रक्रियाबाटै देशको मूलधारमा समाहित भएपछि माओवादीबाट जातजाति, समुदाय र लैंगिक समावेशिता, सहभागिताको हक सुनिश्चित हुने ठानिएको थियो । तिनको मूलधारको राजनीतिमा प्रवेशले गाउँसहरका जनताले माओवादीलाई राजनीतिक साथ दिए । तर गणतन्त्र प्राप्तिपछि माओवादी नेता नेता सिंहदरबार, काठमाडौं छिरे, सबल युवायुवती निराश भएर बिदेसिए र अपांग, बेपत्ता तथा शहिदका परिवार अझ गरिब, विपन्न र आर्थिक संकटमा परे र परिरहेका छन् । उता माओवादीकै नेतृत्व तहमा चुलिएको सत्तालिप्साले आफू सधैं टिकिरहन अनेक षड्यन्त्रमा खेल्न नै प्रेरित गरिरहेको स्पष्ट हुन थालेको छ ।

दलका नेताको अगुवाइमा राज्य सरकारी तहमा अपारदर्शी र खोटो नियतका कामले वैधता पाउन थाले । सत्तामा ‘खोटा सिक्का’को हालीमुहाली बढेको छ । हाकाहाकी गरिएका अपराधकर्मको विरोधमा चुइँक्कसमेत बोल्न नसक्ने लाटा र बहिराको ठूलै जमात यतिबेला राजनीति कब्जा गरेर बसेको छ । सत्ताको दुरुपयोगबाट बढेका विकृतिलाई आफ्नो स्वार्थको दुनो साझ्याउने नियतले आफूअनुकुल व्याख्या गरेर आफ्नै आकांक्षा पूरा गर्न नेतृत्व तह दत्तचित्त छ । यस्ता काम त जनताको स्वार्थ हेरेर गरिनुपर्ने थियो । तर ठीक त्यसको उल्टो आफ्नो व्यक्तिगत नाफानोक्सानीको बहिखाता रुजु गर्नमै नेता व्यस्त छन् । फलतः जनताबाट तिरस्कृत हुँदै गएका दलका पतित नेताकै यतिबेला शासनमा ठूलो स्वर छ । यिनमा मिलिजुली सत्तालाई रोटीका रूपमा टुक्रा-टुक्रा पारे भागशान्ति भोज गर्ने होड यतिबेला प्राथमिकतामा परेको छ । विगतमा राज्य र शासनलाई जनअपेक्षाअनुसार चलाइनुपर्ने भन्दै सडकमा आवाज उठाउने नागरिक समाज यो लुँछाचुँडीमा मुकदर्शक बन्न पुगेको छ भन्नुभन्दा पनि शासनमा कब्जा जमाउने जमातकै पिछलग्गुका रूपमा आफ्नो नामअनुसारको यथोचित भूमिकासमेत निर्वाह नगर्ने पंगुका रूपमा रूपान्तरण हुँदै गएको छ ।

सत्तामा देखिएका विकृति, सुशासन, पारदर्शिता र न्यायका नाममा गरिएका अनेक उल्टा प्रपञ्चकै कारण यतिबेला सिंगो मुलुक पुनः अर्को सम्भावित दुर्घटनाको मुखमा उभिन पुगेको छ । व्यवस्थामाथि दुईधारे तरबार ठाडो परेर उभिएको छ । जनताले अनुभव गरेको यो खतरापूर्ण अवस्थालाई राजनीतिको अँगेनामा आफ्नो स्वार्थको रोटी सेक्दै आएका नेतालाई ज्ञात छैन भनेर पत्याउन सकिन्न । ता पनि ‘निरो’कै शैलीमा देशका सबै खाले दलको नेतृत्वमा रहेका व्यक्ति बाँसुरी बजाउनै व्यस्त छन् । देश बलोस् वा निभोस्– उनमा कुनै चिन्ताका लक्षण देखिएका छैनन् ।- विमर्श साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्