Logo

कमल थिङको उद्धारको लागि आवश्यक ‘ब्लडमनी’ संकलन भैसक्यो, अब नउठाऔं : वैदेशिक रोजगार उद्धार नेपाल/ताम्सालिङ टिभी



काठमाडौं, २३ फागुन । वैदेशिक रोजगार उद्धार नेपालले सिन्धुली जिल्ला मरिन गाउँपालिका वडा नम्बर–२ स्थायी घर भएका कमल थिङको ‘ब्लडमनी’ तिर्नको लागि आवश्यक रकम उठिसकेको जनाएको छ । थिङलाई कतारको अदालतले ब्लडमनी तिर्नको लागि फैसला सुनाएको थियो ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा उक्त संस्थाले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराएको हो । ब्लडमनी तिर्नको लागि कतारी रियाल २ लाख अर्थात नेपाली ६० लाख भनिएको थियो । उक्त रकम तिर्नको लागि नेपालमा जम्मा भैसकेको छ । पारिवारिक सहमतिका आधारमा तोकिएको पैसा तयार गरिएको पनि संस्थाले जनाएकोछ । मृत्तकको परिवारले बोलाएपछि उक्त रकम हस्तान्तरण गरिने पनि संस्थाले जनाएको छ ।

मृत्तक शिवरतन राउत पनि नेपालकै हुन् । उनको ठेगाना धनुषा जिल्ला घोडघाँस वडा नम्बर–३ हो । उनको परिवारले सहमति जनाएपछि ब्लडमनी तिर्न लागिएको पनि संस्थाले बताएको छ । मृत्तकको परिवारले रकम बुझेपछि आममाफीमा लिखित सहमति हुने र अहिले त्यसको लागि मृत्तकका छोरा राजकुमार राउतले थिङको परिवारसँग समन्वय गरिरहेको पनि उक्त संस्थाले स्पष्ट पारेको छ ।

सन् २०१८ सेप्टेम्बर ८ तारिखमा एक आपसमा जिस्किने क्रममा कतारमै दुर्घटना भई राउतको मृत्यु भएको कुरा पनि संस्थाले जनाएको छ । २०७६ साउन २१ गते कतारको दोहास्थित् नेपाली राजदूतावासले कतारमा मृत्यु भएका नेपाली नागरिक राउतको क्षतिपूर्तिको सम्बन्धमा मृत्तक र थिङ दुवैको परिवारलाई सम्बोधन गरेर पत्राचार समेत गरेको थियो ।

कार्यक्रममा वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष ईन्द्रलाल गोलेले घट्ना भएपछि थिङको परिवारका सदस्यहरु आफूहरुको संस्थामा आएको र उद्धारको लागि निवेदन दिएको सुनाए । उनले भने,‘उहाँहरु आएर हाम्रो मान्छे बचाउनुहोस् भनेर निवेदन दिनुभयो । त्यसपछि हामीले कमल थिङ बचाउ अभियान–२०६६ गठन गर्यौं । सोहीअनुसार आवश्यक सहयोगको लागि सन्देश प्रवाह गर्यौं । म दुवै परिवारको घरमै पुगेको छु । स्थलगत् अध्ययन गरें । उहाँहरुसँग समन्वय गरें । त्यसपछि हामीले ब्लडमनीको लागि आवश्यक रकम उठायौं ।’

उनले विशेषगरि विदेशमा रहेका नेपाली संघ तथा संस्थाबाट थिङ बचाउ अभियानमा सहयोग प्राप्त भएको पनि जनाए । उनकाअनुसार अदालतले भनेबमोजिम उक्त ब्लडमनी संकलन गर्न झण्डै एक वर्ष लागेको थियो । उनले आफूहरुले दुई परिवारको बीचमा सहमति गराएको पनि सुनाए । केही दिनपछि ब्लडमनी तिरेर थिङलाई नेपाल ल्याउनेपनि उनले जनाए ।

उनले आगामी दिनमा पनि वैदेशिक रोजगारमा गएका नेपालीहरु जो दुःख, पीडामा परेका छन् उनीहरुको उद्धार र सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले भने,‘हामीले त सरकारलाई समेत सहयोग गरेका छौं । वैदेशिक रोजगारीमा ठगी गर्नेहरुलाई समेत कारबाही गराउन पहल गरेका छौं । हामीले आफ्नो तर्फबाट सहयोग गरिरहेका छौं ।’ मानव बेचबिखन, ओसारपोसार, श्रम शोषण, महिला हिंसा, जातीय विभेद लगायतका मुद्दामा आफ्नो संस्थाले काम गरिरहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा ताम्सालिङ टिभीकी प्रवन्ध निर्देशक रजनी तामाङ (घिसिङ) ले आफूहरुले मिडियाको माध्यमबाट सहयोग जुटाउनको लागि विशेष भूमिका निर्वाह गरेको सुनाईन् । उनले भनिन्,‘म आफैंले पनि मिडियामार्फत सहयोग गरें । म यो अभियानमा सहयोग गर्नुहुने व्यक्तित्वहरु र सम्पूर्ण संघ तथा संस्थालाई धन्यवाद दिन चाहन्छु ।’ उनले ब्लडमनी तिर्नको लागि आवश्यक रकम जुटिसकेकोले अब नउठाउन समेत सहयोगी मनहरुसमक्ष अपिल गरिन् ।

कार्यक्रममा थिङकी श्रीमती चिनीमाया वाईबा र दिदी सुन्दरी तामाङले ब्लडमनी संकलनको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । सबैको साथ र सहयोगको कारण कमल छिट्टै स्वदेश आउने सुनेकोले आफूहरु खुशी भएको पनि उनीहरुको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot