Logo

न्याय माग्न जाँदा प्रहरीको ज्यादती



काठमाडौ, फागुन २३ । गत शुक्रवार सामाजिक सञ्जालहरुमा एउटा भिडियो भाइरल भयो– जसमा काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीको डन्डा बर्सिएको थियो । एउटा निजी आवासको कम्पाउण्डमा प्रहरीद्वारा निर्मम तरिकाले कुटिएकी महिला हुनुहुन्छ हेमा श्रेष्ठ । आखिर के त्यस्तो गल्ती भएको थियो– जसले गर्दा उहाँमाथि प्रहरीको डन्डा बर्सियो ? उहाँ आफ्ना लागि नभएर अरुका लागि न्याय माग्ने सिलसिलामा प्रहरीद्वारा कुटपिटमा पर्नुभएको हो ।

नेपाली सेनाका पूर्व सहायक रथी हेम खत्री र माला साहबीचको विवाद मिलाउन गत बिहीवार भैंसेपाटीस्थित खत्रीनिवासमा पुगेका केही महिला अधिकारवादीको हुलमा हेमा श्रेष्ठ पनि हुनुहुन्थ्यो । ती महिलालाई घरबाट निकाल्ने क्रममा प्रहरीद्वारा लाठीचार्ज भयो, यही क्रममा भैंसेपाटी प्रहरी प्रभागका निरीक्षक देवीप्रसाद पौडेलद्वारा बालक च्यापिरहेकी हेमालाई पछाडिबाट डन्ठाले पटक÷पटक पिटिएको हो । सामान्यतः महिलालाई नियन्त्रणमा लिन महिला प्रहरी नै परिचालन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, उक्त प्रावधानलाई बेवास्ता गर्दै पौडेल आफैं घटनास्थल पुगेर महिलामाथि हातपातमा उत्रिएको बताइन्छ । उक्त घटनामा संलग्न पौडेललाई जिम्मेवारीबाट हटाइएको छ भने घटनाको छानबिन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।

मालाले आफू विगत २२ वर्षदेखि नेपाली सेनाका पूर्व जनरल खत्रीकी श्रीमती रहेको र डेरा लिएरै राखेको भए पनि पछिल्लो समय आफूलाई छाडेर हिँडेको बताउँदै नाता प्रमाणित गरिदिन माग गर्दै आउनुभएको छ । यही क्रममा हेमासहित केही महिला अधिकारकर्मीलाई लिएर खत्रीनिवासमा पुग्दा उक्त घटना भएको हो । त्यस दिन आफ्नो घरअघि महिला जम्मा भएको थाहा पाएपछि हेमले प्रहरीलाई खबर गरेको र त्यहाँ पुग्नेबित्तिकै पौडेलले जथाभावी हातपात र पिटेको महिलाहरुको भनाइ छ । तर, त्यसबेला हेमको घरमा उहाँकी छोरीमात्र रहेको र घरभित्र छिरेर तोडफोड गर्न थालेपछि त्यहाँबाट हटाउन खोज्दा उक्त घटना भएको प्रहरीको कथन छ । प्रहरीले घटनास्थलबाट हेमकी श्रीमती मालासहित गोमा केसी, रूपा घिसिङ्, शोभा खड्का थापा, उषा रायमाझी र हेमा श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये उषा रायमाझी र हेमा श्रेष्ठलाई तारिखमा छाडे पनि बाँकीलाई हिरासतमा लिइयो ।

स्रोतका अनुसार गत कात्तिक २७ गते भैँसेपाटीमा आफूलाई तीनजना महिलाले पिटेको भन्दै खत्री प्रहरीकहाँ उजुरी लिएर पुग्नुभएको थियो । उजुरी मालाविरुद्ध पनि थियो । कात्तिक २८ गते प्रहरी सम्पर्कमा आउनुभएकी मालाले आफू २२ वर्षदेखि खत्रीकी प्रेमिका रहेको र डेरा लिएरै राखेको तर पछिल्लो समय आफूलाई छाडेर हिँडेको बताउनुभयो । १६ तोला सुन र नगदसहित गत असोज १५ गते भारत जान्छु भन्दै निस्कनुभएका खत्री नफर्किएपछि उहाँलाई खोज्ने क्रममा भैँसेपाटीमा भेटेको मालाको भनाइ छ । यसपछि उक्त विवाद पटक÷पटक प्रहरीसम्म पुगे पनि पावर, पद र पैसाका आडमा सम्बद्ध व्यक्तिमाथि अनुसन्धान नै नभएको महिलाहरुको दाबी छ ।

आरोपित खत्री नेपाली सेनाबाट नक्कली सर्टिफिकेट काण्डमा निलम्बनमा परेका पूर्व सहायक रथी हुनुहुन्छ । सहायक रथी पदमा पुगेका बेला हेमले पाकिस्तानमा सञ्चालित नेशनल सेक्युरिटी एन्ड वार कोर्स तालिममा सहभागी हुन स्नातक तह उत्तीर्ण गरेको भनी भारतको मगध विश्वविद्यालयबाट जारी नक्कली सर्टिफिकेट पेश गर्नुभएको थियो । सोही आरोपमा वि.सं. २०७० कार्तिक २७ गतेबाट लागू हुने गरी भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिनेगरी खत्रीलाई सेवाबाट बर्खास्त गरिएको थियो । (विमर्सबाट)



प्रतिक्रिया दिनुहोस्