Logo

प्रमको निर्वाचन क्षेत्र इन्चार्जमा बस्नेत



काठमाडौ, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकासमेत रहेको झापा जिल्ला निर्वाचन क्षेत्र नं. ५ (ख) को इन्चार्जको जिम्मेवारी युवा नेता वीरेन्द्र बस्नेतले पाउनुभएको छ । नेकपा प्रदेश १ समितिका सदस्यसमेत रहनुभएका बस्नेत विक्रम सम्वत् २०५२ फागुनबाट सुरु भएको माओवादी जनयुद्धमा दुई वर्ष तीन महिना राज्यनियन्त्रित शाही नेपाली सेनाद्वारा बेपत्ता बनाइएका युवा हुनुहुन्छ । बस्नेतलाई शाही शासनमा मानव बधशाला भनेर चर्चामा रहेको सेनाको भैरवनाथ गणमा चरम यातना दिइएको थियोे ।

बस्नेतका दाजु पुष्पराज बस्नेत र भाइ धीरेन्द्र बस्नेत सोही भैरवनाथ गणबाट हालसम्म पनि बेपत्ता पारिनुभएको छ । तत्कालीन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको पूर्व महासचिवको समेत जिम्मेवारी पूरा गरिसक्नुभएका बस्नेत विक्रम सम्वत् २०६५ मा भक्तपुरको सानोठिमी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति पदमा निर्वाचित हुुनुभएको थियो ।

झापाको प्रम ओली (नेकपा अध्यक्ष पनि) निर्वाचित संघीय निर्वाचन क्षेत्र ५ अन्तर्गतको ५(ख) मा दमक नगरपालिकाका सवै वडा र कमल गाउँपालिकाको ५, ६ र ७ नम्बर वडा पर्छन् ।



प्रतिक्रिया दिनुहोस्