Logo

कोरोनाको सन्त्रास, संसद बैठक नै स्थगित् गर्नुपर्छ : सांसद खड्का



काठमाडौं, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री डा. नारायण खड्काले केही समयको लागि संसद बैठक नै स्थगित् गर्न सुझाव दिएका छन् । विश्वव्यापी रुपमा कोरोना भाईरसको संक्रमण फैलिएको अवस्थामा नेपालले पनि सावधानी अपनाउनुपर्ने भन्दै उनले भीडभाडमा कार्यक्रम तथा सभा, गोष्ठी गर्न नहुने तर्क गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।

नेपाली काँग्रेसका सांसद गगन थापाले प्रस्तुत गरेको सो प्रस्तावमा सांसद सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा नारायण खड्काले समर्थन गरेका थिए । सो प्रस्तावमा कोभिड–१९ को जोखिमका हिसाबले १५औँ संवेदनशील मुलुकमा रहेकाले यस स्थितिमा पूर्वतयारी र रोकथामका लागि पर्याप्त काम हुन नसकेको तर सरकारबाट उच्चस्तरीय समन्वय समन्वय समिति गठन हुनु सराहनीय रहेको उल्लेख छ ।

प्रस्तावमा उक्त भाइरसबारे आम जनतामा सही ढङ्गले सूचना दिई नेपाल बाहिर रहेका नेपालीको व्यवस्थापन र नेपाल भित्रिने पर्यटकको व्यवस्थापन गर्न माग गरिएको छ । “यो कुनै एउटा मन्त्रालय र सरकार वा निकायको मात्र जिम्मेवारी होइन, व्यक्ति समुदाय सबैतहका सरकार गैरसरकारी र साझेदार संस्था सबै एक ठाउँमा रहेर यस चुनौतीको सामना गर्नुपर्छ”, प्रस्तावमा भनिएको छ, “विश्वव्यापी जनस्वास्थ्य आपत्कालको यस अवस्थामा नेपालको सम्भाव्य जोखिमसँग जुध्नका लागि सबै तह र निकाय एकजुट हुनुपर्ने भएकाले यसलाई साझा अभियान र राष्ट्रिय सङ्कल्पका रुपमा अगाडि बढाउन आवश्यक छ ।”

जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै सांसद थापाले तयारी गर्दा गर्दै पनि सङ्क्रमण फैलियो भने अहिले नै गर्नुपर्ने काम केहो भन्ने विषयमा तयारी गर्नु जरुरी रहेको बताए। उनले भाइरस सङ्क्रमण हुन नदिन सबैको आआफ्नो जिम्मेवारी रहेको बताए। यसका लागि एकीकृत कार्ययोजना आवश्यक भएको सांसद थापाले बताए। file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot