Logo

नेपाल-भारत सम्बन्ध नयाँ उचाईमा पुग्ने देउवाको विश्वास



काठमाडौं, २३ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज साँझ राजदूत क्वात्रा देउवाको निवासमा पुगेका थिए ।

राजदूत क्वात्रासँगको भेटबारे सभापति देउवाले जानकारी गराएका छन् । उनले ट्विटरमा उक्त भेटवार्ताको तस्विरसमेत सार्वजनिक गरेका छन् । राजदूत क्वात्रासँगको भेटमा नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध मजबुत बनाउने र नयाँ उचाईमा पुर्याउने विषयमा छलफल भएको देउवाले जनाएका छन् । त्यस्तै, उनले आफूले राजदूत क्वात्रालाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेको कुरा उल्लेख गरेका छन् ।

राजदूत क्वात्राले हिजो (बिहीबार) मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए । त्यसलगत्तै उनले उपराष्ट्रपति नन्दबहादुर पुन, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका थिए । आजमात्रै उनले उर्जामन्त्री वर्षमान पुन, नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँग भेटवार्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्