Logo

शेयर बजारका जटाधारी बाबा



ज्याेति शाह । जट्टाधारी कपाल,शरीरमा कपडाको नाममा सेतो धोती,पछ्यौरा र खाली खुट्टा, एक सन्त (बाबा) हर दिनजसो काठमाडौंको एक ब्रोकर कम्पनीमा देखिन्छन् । शेयर बजारमा ती सन्त देख्नेलाई अचम्म लाग्न सक्छ । तर ति व्यक्ति सन्त मात्र नभई दोश्रो शेयर बजारका खेलाडी पनि हुन् ।

भनिन्छ साधुसन्तको आयु हुँदैन, जात हुँदैन, नाम हुँदैन । यि सन्तले आफ्नो उमेर भन्न नचाहे पनि उनको नाम भने शेयर बजारमा प्रायलाई थाहा छ । बिदुर भट्टराई,यी सन्तको वास्तविक नाम हो ।काठमाडौंको स्युचाटारको एक कुटीमा बस्दै  आइरहेका बिदुरले कानुन विषयमा स्नातक गरेका छन् ।

बिदुरका अनुसार शेयर बजार हर व्यक्तिका लागि हो । उनी भन्छन्,”हर उमेर, तह, क्षेत्र,पेशा, जात र  लिंगका लागि शेयर बजार हो। अर्थ अर्थात पैसाे जन्मदेखि मुत्युसम्मका लागि आवश्यक हुन्छ।त्यसैले अर्थकालागि शेयर कारोबार उत्तम विकल्प हो।”

सन्त बिदुरका अनुसार शेयर बजार सबैको साझा मंच हो ।

मध्यम वर्गीय परिवारमा जन्मेका बिदुरको बाल्यकाल सामान्य बित्यो । उनको परिवारमा बुवा,आमा, भाई र बहिनी छन् ।

एक सामान्य युवाको जीवन बिताइरहेका बिदुरको २०५७ सालमा जीवन परिवर्तन भयो । उनी आफ्नै चाहना अनुरुप सन्त जीवनमा प्रवेश गरे । उनी भन्छन्,”मनमा साधु बन्ने बेजोड चाहना थियो । बचपनदेखि नै साधुसन्तप्रति प्रेमभाव थियो । त्यसैलाई पुरा गर्न स्नातक तहको अध्ययन पछि आध्यात्मिक जीवनतर्फ लागेँ । ५ वर्ष त यो भेष बनाउनै लाग्यो ।”
निरन्तर १९ वर्षदेखि उनी सासांरिक जीवनबाट पर छन् । तर पनि सामान्य जीवन त्याग्ने बिदुरले शेयर जीवन भने त्याग्न सकेनन् ।
एकपटक उनी साधु बन्न घर छोडे । तर पछि कारणबश उनी घर फर्किए र घरमै बसी सन्तको जीवन बिताउन लागे ।

बिदुरलाई शेयरका बारेमा ज्ञान भएपनि उनले पूर्ण रुपमा लगानी गरेका थिएनन् । तर परजीवि भएर बस्न उनको मनले मानेन । उनी विगत सम्झन्छन्,”अध्ययन सकिसकेपछि घरको भरमा ५ वर्ष बसेँ तर अब आत्मनिर्भर हुनुपर्छ भन्ने लाग्यो र लगानी गरेमा जीवन सहज हुन्छ भन्ने सोचें र बजार प्रवेश गरेँ ।”

आम मानिस भन्दा फरक छ उनको जीन्दगी तर शेयर बजारमा भने सबै सरह कारोबार गर्छन् । उनको जीवनका अन्य रुचि परिवर्तन भए पनि उनको शेयर तर्फको रुचि भने कहिल्यै परिवर्तन भएन ।

  • क्याम्पस आउँदा जाँदा नेप्सेको झ्यालबाट चिहाउँथे

बिदुरलाई शेयर सम्बन्धि सामान्य ज्ञान कलेज पढ्दा नै थियो । २०४७ साल तिर उनी कानुनमा प्रविणता प्रमाणपत्रको अध्ययन गर्थे । त्यो समय डिल्लीबजार स्थित नेप्सेको कार्यालय नै उनको सधैँको बाटो पथ्र्यो । नेप्सेमा दैनिकजसो भीड देखिन्थ्यो । कहिले काँही झ्यालबाट पनि चिहाउँथे उनी । सो क्रममा शेयरप्रति उनमा चासो जाग्यो । पछि उनले शेयर बजार र कारोबारको बारेमा त्यहाँबाट नै बिस्तारै जानकारी पाएँ ।

बिदुरले शेयर लगानी केवल ५ हजारले शुरू गरेका रहेछन् । उनी सम्झिन्छन्,”एनआईडिसिएलको प्रति कित्ता १० रुपैयाँका दरले ६०० कित्ता खरिद गरेँ । समयावधि सकिएपछि नाफासहित फिर्ता पनि पाएँ । ”
उनी शुरुवाती दिनका शेयर अनुभव यसरी स्मरण गर्छन्,”२०५७ साल भन्दा अघिको बुल केवल हेरेँ मात्र । त्यो समय बिस्तारमा थाहा भएन त्यसैले लगानी गरिएन । त्यसपछिको बुल हेरेर लगानी गर्ने कोशिश गरेँ तर हेरेर नै चित्त बुझाएँ । अहिले पछिल्लो बुलमा भने अलिअलि कमाएँ”,उनी मुकुराउँछन् ।

  •  फरक जीन्दगी , फरक सोच

बिदुर समाजमा देखिएका साधुसन्त भन्दा फरक सोच्छन् । साधुलाई शेयर बजार र आम्दानीसँग के चासो भन्ने प्रश्नहरु उनका सामु दैनिजसो तेर्सिन्छन् । उनी जवाफ दिन्छन्,”समाजमा साधुले सबै त्याग गर्ने र पेट पाल्नका लागि कर्म नगर्ने, मागेर नै गुजारा गर्ने चलन छ । तर मैले आफ्नै हातखुट्टा चलाई आफ्नै क्षमता र परिश्रम प्रयोग गरेर जिउँछु भन्ने सोचका साथ शेयर बजारमा लागेँ । ”

बिदुरले शेयर जीवन मागेर खान नपर्ने र कसैको आश्रयमा बाँच्न नपर्ने भएकाले रोजेको बताउँछन् । “साधुको त्याग्त जीवन भन्ने सोचाइ छ । तर हर कोहीलाई बाँच्नकालागि आधार चाहिन्छ । यहाँ आफ्नो भएको त्याग्ने र अरुको ग्रहण गर्ने चलन व्याप्त छ । त्यो कता कता मलाई अमिल्दो लाग्यो । भोक लागेपछि पेटले खोज्छ र मागेर खाएपछि त्याग भन्ने कुरा त हरायो नि !” उनी प्रष्ट पार्छन् ।

“पहिले मलाई शेयर बजारमा समायोजित हुन अप्ठ्यारो भयो । साधु पनि बन्ने र त्यागी पनि कसरी बन्ने भन्ने सवाल उठ्यो । त्यसैले आफूसँग भएकोलाई सही तरिकाले उपभोग गर्छु, आँफै कमाउँछु बरु भएमा अरुलाई पनि दिन्छु”,सन्त बिदुर भन्छन् ।

  • गाईको दूधको भरमा जिन्दगी

१७ वर्षदेखि बिदुर केवल गाईको दूधको भरमा बाँचेका छन् । उनले अन्नका नाममा फलफूल समेत खाने गरेका छैनन् । उनी दैनिक ३ माना दूध पिउँछन् । पहिले उनी कैयौँ दिनसम्म भोकै साधनामा लाग्ने गर्थे । तिर्थ यात्रा गर्दा उनले दूध नपाउने स्थानमा भोकभोकै ११ दिनसम्म पनि हिँडेको अनुभव सँगालेका छन् । अहिले गाईको दूध नपाएको अवस्थामा उनी पानीको सहारामा बस्ने गर्छन् । ब्रोकर कम्पनीमा प्रत्येक दिन आइरहने उनी आफ्ना साथमा गिलास पनि बोकेर हिँड्छन् । उनी आफू स्वस्थ , खुशी र सन्तुष्ट भएको बताउँछन् ।

  • तनाबरहित तर जोखिमपूर्ण शेयर जीवन

बिदुर आफूलाई जोखिमपूर्ण लगानीकर्ता भन्न रुचाउँछन् । राम्रो कम्पनीले राम्रै प्रतिफल दिने आशामा  उनले त्यसैमा लगानी गर्ने गरेका छन् । उनी लघुवित्तमा लगानी गर्न उचित ठान्छन् । बिदुर थप्छन् ,“लगानी पैसा कमाउनकै लागि गरिने भएकाले राम्रै कम्पनीमा लगानी गर्दा राम्रै नाफा पाईन्छ । घटे राम्रै चोट लाग्छ या बढेमा हर्सित नै बनाउँछ । जोखिम लिन रुचाउँछु म । ”

अन्य लगानीकर्तालाई उनी आफ्नो क्षमता बुझेर लगानी गरेमा तनाव झेल्न नपर्ने सुझाउँछन् । उनी थप्छन्,”मैले पनि ऋण गरेर लगानी गर्ने गर्छु। कहिले काँही तनाब होला जस्तो पनि हुन्छ । शेयर बजारमा पसेपछि जति नै भएपनि अपुग हुन्छ। अपुग रकमलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने मानसिकता तयार गर्नुपर्छ । शेयर व्यवस्थापन गर्ने आधार चाहिँ अन्य क्षेत्रको यसलाई बनाउँछु भन्ने आँटकासाथमा स्पष्ट भएमा समस्या आउन सक्दैन।”

बिदुरले पुख्र्यौली जग्गालाई आधार बनाएर पनि लगानी गर्ने गरेका छन् । बजार बढेपनि उनका पुराना घाटा यथावत छ । तर समग्र कारोबारका आधारमा आफूलाई घाटा नभएकोमा उनी ढुक्क देखिन्छन् ।”आध्यात्मिक जीवनका कारण पनि म सन्तुष्ट भएको होला तर पनि आफूले गरेको कर्ममाथि विश्वास हुनुपर्छ”,उनी भन्छन् । “कि कर्म नै नगर्नु कि आँटेपछि विश्वास र धैर्यताकासाथ लगानी गरेमा फल मिल्छ । “जुन पैसा हामी शेयरमा लगानी गर्छौँ, त्यो नचलाई परिआएको खण्डमा अन्तैबाट खर्च निकाल्न सकेमा पनि शेयर बजारमा टिक्न सकिने उनको तर्क छ ।

दोश्रो शेयर बजारका खेलाडी सन्त बिदुरले गएको बुलमा सबै शेयर बेचेर गाडी किनेको सुनाउँछन् । उनले आफ्ना परिवारकालागि उक्त गाडी किनेका हुन् ।

त्यसपश्चात १६००को बजार इन्डेक्समा उनले फेरि शेयर कारोबार गरे । उनी भन्छन्,” ती शेयर अहिले पनि माईनसमा नै छ,कुरिरहेको छु । मैले त्यो समयदेखि शेयर बेचेको छैन । १०९८ मा बजार इन्डेक्स आउँदा आफ्नो ब्याक सपोर्टले भरथेक गरेर बसेको छु ।”

बिदुरले हाल पनि शेयर किनिरहेका छन् तर बेचेका छैनन् ।

“लगानीकर्तालाई प्रतिफलको आशा हुन्छ । त्यसैले जुन कम्पनी लगानीमैत्री हुन्छन्, त्यसमा लगानी गर्छु । केही साना लघुवित्तमा पनि लगानी गरेको छु । तर प्राय राम्रा कम्पनी बुझेर मात्र धेरै लगानी गर्छु”,उनी थप्छन् ।

हालको बजारलाई मध्यनजर गर्दै उनी आफ्नो व्यक्तिगत कारोबारका आधारमा भन्छन्,”कर्मसियल बैंकमा त्यति धेरै रिटर्न छैन। निक्षेपमा राख्दा र शेयरमा लगानी गर्दा उतिकै नाफा हुन्छ या त्यति पनि हुँदैन भने शेयरमा किन लगानी गर्ने ? “उनी प्रश्न गर्छन् ।

  •  जीविकोपार्जनको बाटो बन्यो शेयर कारोबार

शेयर बजारका नाफाले केही गर्ने बिदुरको योजना छैन । उनी भन्छन्,”अघिल्लो बुलमा अलि अलि कमाएको थिएँ। भर्खर लगानीको साउँ आउँला जस्तो भएको छ । करेक्शन भइरहेको छ । कमाएर यो गरौँला, त्यो गरोँला भन्ने नै छैन। शेयर बजारमा म पैसा कमाउँछु भन्ने उद्देश्यले आएको हैन । म केही गरि आफ्नो गुजारा चलाउँछु भनेर मात्र आएको हुँ । गर्दै गएपछि अब भने आधार जस्तै भएको छ ।”
शेयर कारोबार गर्न सबैलाई अग्रसर हुन आग्रह गर्दै बिदुर भन्छन्,”अर्थोपार्जन गर्नकालागि सहज छ । कुनै मेहेनत गर्नुपर्दैन । घरमै बसेर पनि लगानी गर्न सकिन्छ । शेयर बजार बुझेका र नबुझेका सबैले शेयर बजारमा आउँदा उचित हुन्छ।”

“मानिसको जीवन अर्थसँग सम्बन्धित हुन्छ, चाहे ऊ जंगलमै ध्यान किन नगरोस् । आफूसँग भएका थोरै या धेरै होस्, चाहे शेयर बुझेको होस् या नबुझेको होस्, शेयरमा लगानी गर्दा बिना मेहेनत  नै राम्रो प्रतिफल प्राप्त हुने मैले देखेँ । थोरै लगानी गरेमा पनि केही नाफा कमाउन सकिन्छ”,बिदुर सुझाव दिन्छन् ।

केही तिता अनुभव

बिदुरले जीवनमा खासै संघर्ष गर्नु परेको छैन तर उनले जीवनमा धेरै अपमान पनि भोगेका छन् । उनका स्मरणमा केही नमिठा याद अझै ताजा छ । “सुरुमा म ब्रोकर नं ३१ मा जान्थेँ,कारोबार गर्न बैंक जानुपर्थ्याे । ”
सो क्रममा बैंकको ढोकामा नपस्दै उनलाई पालेले परैबाट रोकेर “उता, उता” भनेर देखाउने गर्थे ।

“चेतना हामी सबैमा छ तर साना कुरा पनि हामी ख्याल गर्दैनौँ । जोसुकै आएपनि केकालागि आएको भनेर सोधीखोजी गर्नुपर्ने ठाउँमा हप्काएर भगाउन त हुँदैन “उनी मलिन आवाजमा भन्छन् ।

बाहिरको आवरण हेरेर, त्यस्तै विचार राखेर व्यवहार गर्दा उनलाई कैयौंपटक चोट परेको छ । बिदुरलाई मानिसले गर्ने गरेको त्यस्ता व्यवहारले, परबाट नै आंकलन गर्ने स्वभाव र खुलेर उनीसँग नै कुरा गरेर द्विविधा नहटाएको देख्दा ताजुब लाग्छ ।

यस्तै अर्को अनुभव पनि उनी सुनाउँछन् । एकदिन बैंक अफ काठमाण्डूमा डिभिडेन्ड लिन उनी लाइनमा बसेका थिए । सधैँ जस्तो उनलाई मानिसले आश्चर्यभावका साथ हेरिरहेका थिए । तर निकै बेर देखि हेरिरहेका एक व्यक्ति भने उनको निकट आई उनलाई भनेछन्,कमसेकम एउटा जुत्ता किनेर लाउनुपर्छ । बिदुरले जवाफ दिएछन्, सुझाव दिएकोमा धन्यवाद तर तपाईँलाई यदि चित्त नै नबुझेको भए, जुत्ता किनेर ल्याइदिनु, म लगाउँछु । ती व्यक्ति केही नबोली फर्केर लाइनमा बसेछन् ।
बिदुर उक्त घटना सम्झदै भन्छन्, “जुत्ता लाउनुपर्छ मलाई थाहा छ । यो मेरो शरिर हो, पहिले लगाएर पनि हिँडेकै हो ।”
जुत्ता नलगाउनु बिदुरको बाध्यता होईन,चाहना हो । उनले यस्ता धेरै अनुभव भोगेका छन् शेयर जीवनमा ।
उनी शुरुमा आइपिओ भर्थेँ । बाटोसम्म लाइन बस्नु्पर्थ्याे । तर प्राय सबै मानिसका नजर उनमा नै हुन्थ्यो । केहिले त अनावश्यक प्रश्न गरेर पनि हैरान बनाउँथे । उनलाई असहज महसुश भयो । ती घटनाले उनलाई आफ्नो मानसिकता दब्बेको भान भयो । आइपिओ भर्न उनले चटक्कै छोडिदिए ।

हाल भने प्रविधिले सजिलो बनाइदिएका कारण उनले आईपिओ भर्न थालेका छन् । प्रविधिका कारण उनलाई अहिले कारोबार गर्न सहज भएको छ । “बजार अहिले लगानीमैत्री र प्रविधिमैत्री भएको छ । कुनै झन्झट बेहोर्नु पर्दैन ।

केहीले उनलाई अब रहर पुगेको भए सन्त जीवन त्यागेर सामान्य जीवनतर्फ लाग्न पनि सुझाव दिने गरेका छन् । तर उनी भन्छन्,”त्यो उहाँहरुको सोंचाई हो । जसको मनमा जुन कुरा गडेर त्यसलाई आत्मसाथ गरेर हृदयदेखि ने जीवनभर पालना गर्छु भनेर लागेको छ भने उसले त्यो बाटो छोड्दैन । त्यसकारण म जीवनका अन्यकुरा सँग भिज्ने संभावना होला तर यो कर्म र विचार परिवर्तन हुँदैन ।”

  • शेयर बजार नै कर्मथलो

शेयर कर्म जीवनभर कायम रहोस् भन्ने भावना छ बिदुरको । उनी भन्छन्,”यो मेरो नियमित कर्म हो । आध्यात्मिक जीवनजस्तै यो पनि मेरो अर्को जीवन हो । मेरो शास रहेसम्म यो जीवन म छोड्दिन । शेयर जीवनलाई म कहिल्यै घृणा,अपमान र यसमा घमण्ड पनि गर्ने छैन ।”

वैकल्पिक पेशा बनाउन चाहनेकालागि पनि शेयर बजार उपयुक्त स्थान हो ।तर यदि कसैले यसलाई पेशाकै रुपमा लैजान चाहनुहुन्छ भने पनि राम्रो हो,उनी थप्छन् ।

बिदुर शेयर कारोबार गर्न चाहनेलाई सुझाउँछन्,”शेयरको लगानीले भविष्यमा हामीलाई थोरै पूँजीले पनि ठूलो कामकुरा गर्न सहज बनाईदिन्छ । आज लगानी गरेको रकम केही वर्षपछि बढ्छ भने स्वत नाफा भयो । लगानी गर्न इच्छुकले पर्याप्त ज्ञान लिएर प्रवेश गर्नुभयो भने राम्रो हुन्छ । क्षति बेहोर्न भन्दा केहि सिकेर आएमा फाइदा हुन्छ ।”

बिदुर पहिले अर्थसम्बन्धि पत्रपत्रिका हेर्ने गर्थे । उनी भन्छन्,”तर प्रविधिको विकाश भएसँगै अनलाईन समाचार पढेर बजारका बारेमा बुझ्ने गर्छु । बजारमा धेरै छलफल हुन्छ , ज्ञानको आदनप्रदान हुन्छ । लगानी गर्दा उचित अनुचित भन्ने बारेमा विश्लेषण हुन्छ । त्यसैलाई आधार मानेर कारोबार गर्ने गरेको छु ।”

शेयर बजारमा बिदुरलाई खरिदबिक्रीका लागि कुनै कठिनाई छैन । उनले प्राइमो सेक्युरिटिजबाट १७ वर्षदेखि निरन्तर रुपमा कारोबार गर्दै आइरहेका छन् । अहिले कुनै चिन्ता छैन । उनी ढुक्कका साथ भन्छन् ।
शेयर कारोबार गर्दा आउने समस्याका बारेमा सन्त बिदुर भन्छन्,”लगानीकालागि रकम व्यवस्था गर्न, भनेको समयमा ऋण पाउन तथा तरलताका कारण कहिलेकाहिँ समस्या आउँछ । लगानीयोग्य रकम समयमा पाउन कठिन छ तर पनि बिस्तारै सजिलो हुँदै गएको छ ।”

कम्पनी रोज्न नसक्ने,क्षमता भन्दा धेरै चाहना गरेमा समस्या उत्पन्न हुनसक्ला नत्र यस क्षेत्रमा कुनै संघर्ष गर्नु नपर्ने उनको बुझाई छ । छलफलको भरमा आरामले जीविकोपार्जन गर्न सकिने भएकाले बिदुर शेयर बजारमा प्रशन्न छन् ।

बिदुर भट्टराई एक्लो सन्त हुन् जसले शेयर बजारमा खुलेर कारोबार गर्ने गरेका छन् ।-मेरो लगानीका लागि ज्योती शाहको रिपोर्ट साभार



प्रतिक्रिया दिनुहोस्