Logo

ट्रक र स्कुटी ठोक्किँदा एक जनाको मृत्यु



राँझा, २४ फागुन : बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित महेन्द्र राजमार्गमा ट्रक र स्कुटी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

नेपालगञ्जदेखि दाङतर्फ जाँदै गरेको भे९प ७८१७ नंको स्कुटी र कोहलपुरतर्फ आइरहेको लु२ख २३४० नंको ट्रक एकापसमा ठोक्किँदा स्कुटी चालक कपिलवस्तु निवासी विष्णु बेल्वासेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पवीन्द्र बमले जानकारी दिए । उनका अनुसार दुर्घटनामा स्कुटी चालक बेल्बासेकी श्रीमती विन्दु बेल्बासे र छोरी बिपनाको अवस्था गम्भीर रहेको छ । घाइते दुवैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

दुवै सवारीसाधन तीव्र गतिमा रहेकाले एकापसमा ठोक्किँदा मानवीय क्षति हुन पुगेको प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी दिए । उनका अनुसार दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिई कानूनी कार्वाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot