Logo

कोरोनाको प्रभाव नेपाली अर्थतन्त्रमा, केके भयो तहसनहस ?



फागुन २४, काठमाण्डौ । कोरोना भाइरसको प्रकोपले विकासशील एसियाली अर्थतन्त्रलाई प्रभावित पारेको छ । भाइरसका कारण अत्पविकसित मुलुक नेपालमा पनि अत्याधिक प्रभाब परेको छ । चीनबाट सुरु भएको भाइरसका कारण नेपालको अर्थतन्त्रमा ठूलो नोक्सानी हुने पक्कापक्की भएको छ । नेपाल चीनबीच हुदै आएको व्यापारघाटामा झन विकाराल अबस्था हुने अनुमान गरिएको छ ।

विश्वकै दोस्रो ठूलो चीनको अर्थतन्त्र कोरोना भाइरसले बिथोलिँदा त्यसको असरबाट नेपाल मुक्त सक्दैन । यसको आभास गत साता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत् समेत प्रष्ट पारेको छ । बैंकले समिक्षा मार्फत कोरोनाबाट प्रभावित हुनसक्ने व्यवसायी ऋणीलाई सहुलियत दिने जनाएसंगै सो भाइरसका कारण देशको अर्थतन्त्र उच्चरुपमा गिरावट आउने अनुमान गरेको छ । नेपालको चीन दोस्रो ठूलो व्यापार साझेदार देश हो । नेपाल र चीनबीच व्यापार, विदेशी लगानी, निर्माण, पर्यटन, विदेशी सहायता, उपभोक्ता बजारमा चीनसँग हाम्रो निर्भरता बढ्दै गएको छ ।

विश्वमा सबभन्दा धेरै औद्योगिक उत्पादन गर्ने, विदेशमा धेरै पर्यटक पठाउने, ६० मुलुकको प्रमुख व्यापार साझेदार, धेरै वैदेशिक लगानी भित्राउने र बाह्य लगानी गर्ने मुलुकका रुपमा चीन एक मुख्य देशको रुपमा रहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण देशको अर्थतन्त्रमा खासै असर नपु¥याएको भएपनि केही असर भने देखिएको बताएका छन् ।

गत वर्ष चीनसँग २ खर्ब ७ अर्ब रुपैयाँको वस्तु व्यापार भएको थियो । चीनमा नेपालले जति निर्यात गर्छ त्यसको कैयौं गुणा बढी आयात गर्दै आएको छ । यो वर्ष ७ महिनासम्म नेपालले १ खर्ब ३२ अर्ब रुपैयाँको सामान चीनबाट आयात गरेको छ । १ अर्ब ६ करोड रुपैयाँको सामान चिन निर्यात गरिएको छ ।

कोरोना महामारी नियन्त्रणमा नआउन्जेल यसको प्रभाव दुई देशको व्यापारमा परिरहने र सरोकारवालाले क्षति व्यहोर्ने निश्चित छ । कोरोनाकै कारण सरकारले नेपाल भ्रमण वर्ष २०२० मा धक्का लागिसकेको छ । यसवर्ष चिनियाँ पर्यटकको संख्या ५ लाख पुग्छ भन्ने अपेक्षा थियो । अब यो लक्ष्य पूरा नहुने स्पष्ट भइसकेको छ ।

सरकार र निजी क्षेत्रका ठूला पूर्वाधारमा चिनियाँ निर्माण कम्पनी संलग्न रहेका छन् । पोखरा तथा भैरहवा विमानस्थल, सडक, पुल, सिँचाइ, खानेपानी, दुरसञ्चार, सरकारी र निजी क्षेत्रका जलविद्युत आयोजनामा चिनियाँ निर्माण कम्पनीले जिम्मा लिएको र कोरोनाकै कारण अहिले ति आयोजनाहरुको काम बन्द रहेको छ । नेपालमा लगानी गर्छु भन्ने प्रतिबद्धता जाहेर गर्नेमा चीन अग्रस्थानमा रहेको छ ।

चीनले लगानीको आकार र परियोजना संख्यामा भारतलाई उछिनेको छ । लगानी प्रतिबद्धतामध्ये ८० प्रतिशत हिस्सा चिनियाँ सरकारी र निजी कम्पनीको थियो । कोरोना प्रभावपछि यस्ता प्रतिबद्धता यथार्थमा परिणत हुने सम्भावना कम हुदै गएको छ । एसियाली विकास बैंक (एडीबी) ले विश्वको आन्तरिक मागमा कमी, पर्यटन, व्यावसायिक ट्राभल, व्यापार तथा उत्पादन, आपूर्ति प्रणालीमा अवरोध र स्वास्थ्यमा प्रभावले विश्व अर्थतन्त्रमा तीन खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति हुनसक्ने आँकलन गरेको छ ।

सन २०२० को जनवरी अन्त्यतिरबाट विश्वका अधिकांश मुलुकले यात्रामा प्रतिबन्ध लगाउने र सचेत रहन आफ्ना नागरिकलाई आग्रह गर्न थालेसंगै विश्वव्यापी क्षति १५६ अर्ब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । यो विश्व अर्थतन्त्रको ० दशमलव २ प्रतिशत हो । चीनले मात्र १०३ अर्ब अमेरिकी डलर अर्थात चीनको अर्थतन्त्रको ० दशमलव ८ प्रतिशतको क्षति बेहोरेको अनुमान गरिएको छ । बाँकी एसियाली मुलुकमा २२ अर्ब अमेरिकी डलरको क्षति पुगेको अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्