Logo

कोरोना संक्रमितको संख्या १ लाख एक सय १३ पुग्यो



वासिङटन, फागुन २५ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको जनाइएको छ। अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्यांकअनुसार यस भाइरसको प्रकोपबाट संक्रमित हुने व्यक्तिको संख्या १ लाख एक सय १३ पुगेको छ।

उक्त विश्वविद्यालयको तथ्यांकअनुसार यो प्रकोपबाट संक्रमितहरूमध्ये अधिकांश चीनमा रहेका छन्। चीनमा मात्र यसका संक्रमित करिब ८० हजारजना रहेको उक्त विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ।

विश्वभर हाल कोरोना संक्रमित १ लाखभन्दा बढी पुगेको समाचार विभिन्न सञ्चारमाध्यमले दिएका छन्। गत डिसेम्बरको अन्त्यबाट चीनको हुपई प्रान्तको वुहान शहरबाट शुरु भएको यो भाइरस संक्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ। अधिकारीहरूले विभिन्न देशबाट जारी गरेका सूचनाको अध्ययनमा यस भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या शनिबारसम्म ३ हजार ५ सय नाघेको छ। यस भाइरसको संक्रमण ९२ वटा देशमा फैलिएको छ।

कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४४ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी ५ हजार ७६७ जनामा कोरोना संक्रमण देखिएको शनिबार जनाइएको छ। कोरोना भाइरसबाट इटालीमा १९७ जनाको ज्यान गएको शनिबार जनाइएको छ। त्यहाँ बिहीबार र शुक्रबार गरी करिब ९० जनाको मृत्यु भएपछि मृतकको संख्या बढेर १९७ पुगेको छ। त्यसैगरी गरी इटालीमा ३ हजार ९१६ जनामा यस रोगको संक्रमण भएको पाइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot