Logo

अरुण तेस्रो निर्धारित समयमैं सकिन्छ



काठमाडौं, फागुन २५ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले लामो समयदेखि अलपत्र अरुण तेस्रो जलविद्युत् आयोजनाले गति लिएकामा खुसी व्यक्त गरेका छन्। राजदूत क्वात्राले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनसँग भेटवार्ता गर्दै अरुण तेस्रो जलविद्युत् आयोजनाले अपेक्षित लक्ष्य हात पारेको बताएका हुन्।

राजदूत क्वात्राले छिमेकी भारतले केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम ऊर्जा क्षेत्रमा भएको स्मरण गराएका थिए। राजदूत क्वात्राले ऊर्जा मन्त्री पुनको सक्रिय र नेतृत्वदायी भूमिकाकै कारण जलविद्युत्का क्षेत्रमा उल्लेख्य काम सम्भव भएको मन्त्रालयले जनाएको छ। अरुण तेस्रोको ३० प्रतिशत काम सम्पन्न भइसकेको चर्चा गर्दै उनले निर्धारित समयमै आयोजनाको काम सम्पन्न हुने विश्वास व्यक्त गरे। राजदूत क्वात्राले पहुँच मार्गको स्तरोन्नति, विस्फोटक पदार्थ आयात र सुरक्षामा ख्याल गरिदिन अनुरोध गरेका छन्।

यस्तै बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि भएको सहकार्यको सहमतिले उक्त काम सफलतापूर्वक सम्पन्न हुने आशा जागेको राजदूत क्वात्राको भनाइ थियो। उक्त प्रसारण लाइन निर्माणका लागि नेपाल–भारत संयुक्त कम्पनी नै निर्माण भइसकेको छ। मन्त्री पुन मन्त्रालयको नेतृत्वमा आएपछि नेपाल–भारतबीच इनर्जी बैंकिङको सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ। यस्तै भारतले छिमेकी मुलुकसँग विद्युत् आयात निर्यातका लागि ल्याएको निर्देशिका परिमार्जन भयो। जसले दुई देशबीच इनर्जी बैंकिङका साथै अन्तरदेशीय विद्युत् व्यापारका लागि बाटो खुलेको थियो।



प्रतिक्रिया दिनुहोस्