फागुन २५, काठमाण्डौ । यतिबेला नेपाली कम्युनिष्ट आन्दोलनका एक हस्ती अस्पताल छन् । तर उनको अस्पताल बसाई गुमनाम जस्तै छ । ति पात्र हुन्, सिपी मैनाली । गत फागुन १५ गते महोत्तरीमा सवारी दुर्घटनामा परेका मैनालीको अहिले उपचार भइरहेको छ । तर न उपचार बारे कसैलाई मतलब छ, न उनको स्वास्थ्य अस्थाबारे ।
यतिबेला नेपाली कम्युनिष्ट आन्दोलनका दुई हस्ती अस्पतालमा छन् । अहिले प्रधानमन्त्रीसमेत रहेका केपी ओली शिक्षण अस्पताल महारजगंजमा उपचाररत छन् भने सिपी नेकपा मालेका महासचिव सिपी मैनाली धापासीस्थित ग्राण्डी अस्पतालमा । कुनै बेला एउटै दलमा रहेका मैनाली र ओलीमध्ये मैनाली सिनियर नेता मानिन्छन् । तर अहिले अवस्था त्यस्तो छैन । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको हरेक दिन स्वास्थ्य अवस्थाबारे सार्वजनिक रुपमा जानकारी आइरहेको छ ।
तर मैनाली अस्पतालमा गुमनाम जस्तै छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । फागुन १५ गते दुर्घटनामा परेका मैनालीको अवस्था गम्भीर भएपछि काठमाण्डौ ल्याएर उपचार गराइएको हो । आइतबार हामी मैनालीलाई उपचार गराइरहेको अस्पताल पुगेका थियौँ । मैनाली अस्पतालको बेडमा थिए । तर उनको स्वास्थ्यअवस्थाबारे अस्पताललाई बाहेक अरु कसैलाई चासो थिएन ।
मैनालीले हामीसँग कुरा गर्दै आफू दुर्घटनामा पर्नु सामान्य घटना मात्र नभै नियोजित थियो कि भन्ने आशंका व्यक्त गरेका छन् । मैनालीले आफ्नो दुर्घटनाबारे सत्य तथ्य छानविन गर्न सरकारसँग मागसमेत गरे ।
उपचारबाट भने मैनाली सन्तुष्ट देखिए । महोत्तरीमा उपचार सम्भव नहुनेभएपछि उनलाई सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको थियो ।
नेपालमा ठूला राजनीतिज्ञमाथि जुनसुकै बेला जस्तोसुकै षडयन्त्र पनि हुने गरेको भन्दै कानुनविद्हरुले पनि दुर्घटनाबारे छानविन गर्नुपर्नेमा जोड दिएका छन् । कानुनविद मनोहर लामिछानेले मदन भण्डारी र राजा विरेन्द्रको मृत्युको उदाहरण दिदै मैनालीमाथि पनि हत्याको षडयन्त्र हुन सक्ने आशंका व्यक्त गरे ।
मैनालीलाई भेट्न उनकै पार्टी नेकपा मालेका नेता तथा कार्यकताहरु भने जाने गरेका छन् । नेपालका कम्युनिष्ट राजनीतिज्ञमा जनपक्षीय राजनीति हुनुपर्छ भन्ने सोच राख्नुभएका मैनाली कुनै समय निकै चर्चामा रहने राजनीतिज्ञ हुनुहुन्थ्यो । मैनालीलाई २०२८ सालको झापा आन्दोलनका महत्वपूर्ण पात्रको रुपमा लिइन्छ ।