रोम, फागुन २६ । कोरोना भाइरस संक्रमण तीव्र भएपछि इटालीमा सरकारले १ करोड ६० लाख नागरिकलाई क्वारेन्टाइनमा बस्न आइतबार निर्देशन दिएको छ। क्वारेन्टाइन नबसी भागे तीन महिना जेलमा राख्ने चेतावनी दिइएको छ।
इटालीका प्रधानमन्त्री ज्युसेप्पे कोन्तेले भेनिस र मिलानोलगायत क्षेत्रमा कम्तीमा एक महिना आवागमनमा कडाइ गर्ने योजनामा हस्ताक्षर गरेको ट्विटरमा बताएका छन्। प्रधानमन्त्री कोन्तेको आदेशमा सिनेमाघर, संग्रहालय, थिएटर सबै बन्द गर्न भनिएको छ। ‘कोरोना भाइरसकै कारण नयाँ आदेशलाई अन्ततः अनुमोदन गरेको छु’, कोन्तेले भने।
इटालीमा कोरोनाकै कारण २ सय ३० जनाको मृत्यु भएको छ। चीनपछि दोस्रो ठूलो संख्यामा मृत्यु भएको इटालीमै हो। सरकारको यो निर्णयले इटालीको ६ करोड जनसंख्याको एकतिहाइलाई असर पार्नेछ।
उत्तरी क्षेत्रका प्रभावित इलाकामा संग्रहालय, रात्रि क्लब, जिमखाना र क्यासिनो बन्द गरिनेछन्। प्रतिबन्ध कम्तीमा अप्रिल ३ सम्म लागू हुनेछ।