Logo

होलीको हर्षोल्लासमा कोरोनाको त्रास



काठमाडौँ, २६ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ ।

यो मौसममा रुखका पालुवा पलाउने, वातावरण उल्लासयुक्त रहने र कामवासनाले प्राणी जाग्रित रहने भएकाले यो पर्वलाई उल्लासका रूपमा लिइएको हो । कतै विष्णुका भक्त प्रह्लादलाई मार्न बहिनी होलिकाले प्रह्लादलाई काखमा राखेर अग्निमा दहन हुँदा होलिका मरेकी र प्रह्लाद जीवितै रहेको पुराणको कथा प्रसङ्ग यो पर्वसँग जोडिएको छ । होलिकाका कारण यो पर्वलाई होली पर्व पनि भनिँदै आएको छ । यही फागुन १९ गते वसन्तपुर दरबार पटाङ्गिनीमा होलीको चीर गाडिएपछि यो पर्व सुरु भएको थियो तर कोरोना भाइरसका कारण सरकारले हुलमा जमघट नहुन भनेपछि सुरु दिनदेखि नै यो पर्व निरश भएको छ ।

पशुपतिनाथलाई सोमबार अमालकोट कचहरी कार्यालयबाट अबिर लगाएर पर्व सुरु गर्ने तयारी भएको छ । यहाँ पनि अनावश्यक जमघट निषेध गरिएको छ । अमालकोटका कर्मचारी अष्टमान सङ्गतका अनुसार पशुपतिनाथमा पर्व मनाउँदा होशियारी अपनाउन भनिएको छ । कतै कृष्ण र गोपिनी कतै भीमसेन र कतै विष्णु र प्रह्लादका कथा प्रसङ्ग जोडेर यो पर्व मनाउने गरिएको छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्