Logo

चौध करोडका इँटा नष्ट



काठमाडौँ, २६ फागुन । रुपन्देहीमा बेमौसमी वर्षाका कारण इँटा उत्पादनमा ह्रास आएको छ । उद्योगीका अनुसार बेमौसमी वर्षाका कारण जिल्लामा करिब १४ करोड रुपियाँ बराबरको काँचो इँटा नष्ट भएको छ । रुपन्देहीमा ५२ वटा इँटा उद्योग सञ्चालनमा छन् ।

इँटा उद्योगमा यस वर्ष उत्पादनका लागि तयारी अवस्थामा राखिएका काँचा इँटा क्षति भएको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । गत मङ्सिरदेखि फागुनसम्म विभिन्न समयमा परेको बेमौसमी वर्षाका कारण काँचो इँटामा क्षति भएकाले यस वर्ष इँटा उत्पादनमा कमी आउने र उत्पादन लागतसमेत बढ्ने हुँदा सम्पूर्ण व्यवसायी मर्कामा परेको घिमिरेले बताएका छन् । इँटामा क्षति पुगेकाले मूल्य बढ्नसक्ने पनि उहाँले बताए । घिमिरेका अनुसार अहिलेसम्म इँटा उत्पादनमा ६० प्रतिशत गिरावट आएको छ । अब चैत र वैशाखमा मौसम सफा भए ४० प्रतिशत इँटा उत्पादन बढ्नसक्ने तर यसले बजारमा इँटाको माग पूरा नगर्ने हुनाले इँटाको अभाव हुनसक्ने बताएका छन् ।

इँटा व्यवसायीलाई धराशयी हुनबाट बचाउन चालू आर्थिक वर्ष २०७६/७७ मा माटोमा तिर्नुपर्ने रोयल्टीमा छुटको व्यवस्था गर्न उनले सरकारसँग माग गरेका छन् । इँटा बनाउने बेलामा यस वर्ष घाम नै देख्न पाएका छैनौँ, अब केही विकल्प पनि छैन, यस वर्ष बजारमा इँटाको चरम अभाव हुने अवस्था सिर्जना भएको छ, लुम्बिनी इँटा व्यवसायी सङ्घ रुपन्देहीका महासचिव अजयकुमार गुप्ताले बताए । काँचो इँटाको बीमा नहुँदा जिल्लाका ५२ इटा उद्योगी व्यवसायी मर्कामा परेको उहाँले बताएका छन् । इँटाको बीमा नभएकै कारण व्यवसायीहरू बर्सेनि करोडौँको नोक्सानी बेहोरिरहेका छन् भने उपभोक्ता चर्को मूल्यवृद्धिको मारमा परिरहेका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्