Logo

दलालको भर पर्दा यता न उता



काठमाडौं, २७ फागुन । अफ्रिकी मुलुक माल्टा जाने चक्करमा गुल्मीका कृष्ण खड्काले काठमाडौंको सुन्धारास्थित ‘ग्लोरियस वेलनेस स्पा प्रा.ली’ कम्पनीका सञ्चालन बावुराम श्रेष्ठलाई गत असोजमा ६ लाख नगदसहित पासपोर्ट जिम्मा लगाए।

त्यसको एक सातापछि सञ्चालक श्रेष्ठले आधा काम भइसकेको भन्दै कृष्णसँग थप पाँच लाख रुपैयाँ मागे। माल्टा जाने सपना साकार पार्न कृष्णले श्रेष्ठलाई खुरुखुरु पैसा बुझाउँदै गए। श्रेष्ठले उनलाई कात्तिकसम्म माल्टा पठाइसक्ने बचन दिएका थिए। तर गाउँबाट ऋण खोजेर काठमाडौं आएर श्रेष्ठ (दलाल) लाई पैसा बुझाएका कृष्णको माल्टा जाने सपना मात्रै तुहिएन, ऋण काढेर बुझाएको पैसाले पुर्पुरो समाउनुपर्ने बनायो। ‘होला त नि भनेर ऋण काढेरै पैसा बुझाएँ, दलालले यता न उता पारिदिए,’ आइतबार टेकुमा भेटिएका उनले भने।

कात्तिकमा विदेश पठाउँछु भनेका श्रेष्ठ कार्यालय बन्द गरी फोन स्विच अफ गरेर भागेको कृष्णले बताए। ठगिएपछि उनी माघको पहिलो साता महानगरीय प्रहरी परिसरमा जाहेरी बोकेर पुगेका थिए। उनीजस्तै श्रेष्ठबाट ठगिएर परिसरमा जाहेरी दिने धेरै छन्। श्रेष्ठबाट ठगिएको भन्दै ६० भन्दा बढीले परिसरमा उजुरी दिएका छन्। ६० जनाबाट दुई करोडभन्दा बढी रकम ठगेर भागेका श्रेष्ठलाई पक्राउ गर्न प्रहरी लागिप(यो। अर्घाखाँची छत्रदेव गाउँपालिका–७ भगवती घर भई काठमाडौंको सुन्धारा बस्ने ३८ वर्षीय श्रेष्ठलाई नेपालगन्जबाट पक्राउ गर्न प्रही सफल भयो। उनले २६ जनालाई माल्टा पठाउँछु भन्दै प्रतिव्यक्ति १० लाखका दरले रकम असुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार श्रेष्ठले महिनामा १२ सय युरो कमाइ हुन्छ भन्दै उनीहरूलाई प्रलोभनमा पारेका थिए। अन्य ३४ जनालाई कुवेत पठाउँछु भनेर जनही ६/६ लाख उठाएर श्रेष्ठ फरार भएका थिए। पीडितहरूले जाहेरी दिएपछि जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पक्राउ गर्न भनी एक साताअघि पक्राउ पुर्जी जारी गरेको थियो। (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्