रोम, फागुन २७ । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न इटालीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ।सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ।
इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्।
सोमवार इटालीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६६ बाट बढेर ४६३ पुगेको छ। इटलीमा चीनपछि सर्वाधिक मानिस सङ्क्रमित भएका छन्।आधिकारिक तथ्याङ्कानुसार आइतवार सङ्क्रमित मानिसको सङ्ख्या पनि २४ प्रतिशतले बढेको छ।
यसअघि सङ्क्रमण फैलिएको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको थियो।
प्रधानमन्त्री कोन्टेले इटालीको प्रचलन परिवर्तन हुनुपर्ने उल्लेख गर्दै सबै मानिस घरभित्रै रहनु नै उत्तम विकल्प भएको बताए। आफूले सबै नागरिकको स्वास्थ्यको सुरक्षा गर्न थप कडा कदम चालेको उनको भनाइ थियो।
प्रधानमन्त्रीले देशव्यापी रूपमा फुटबल लगायतका सबै खेल स्थगित गरिएको जानकारी दिए। बीबीसीका अनुसार विद्यालय र विश्वविद्यालयहरू एप्रिल ३ तारिख सम्मका निम्ति बन्द गरिएका छन्।