Logo

सञ्चय गर्ने प्रवृत्तिले ग्यासको माग बढ्यो



काठमाडौँ, २७ फागुन । विश्वमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि नेपालमा एलपी ग्यासको माग बढेको छ । उपभोक्ताले घरमा खाली रहेका सिलिन्डर भर्नुका साथै नयाँ सिलिन्डरको जोहो गर्न थालेपछि माग बढेको नेपाल आयल निगमले जनाएको छ ।

हरेक घरमा दुई/चारवटा सिलिन्डर मौजुदा राख्ने थालेपछि माग बढेको निगमको दाबी छ । सिलिन्डर बढी खपत भएपछि निगमले बजारमा एलपी ग्यासको अभाव नभएको सूचना सोमबार जारी गरेको छ । ग्यासको नियमित ढुवानी तथा बिक्री वितरण भइरहेको भन्दै खुद्रा बिक्रेतालाई कृत्रिम अभाव सिर्जना नगर्न पनि निगमले आग्रह गरेको छ । कोरोना भाइरसका कारण बजारमा माग बढे पनि आपूर्ति तथा वितरण मागअनुसार भइरहेको निगमले जनाएको छ ।
मासिक ३८ हजार मेट्रिक टन एलपी ग्यास खपत हुँदै आएकामा हाल ४५ हजार मेट्रिक टन आपूर्ति गरिएको छ । आवश्यक भए आपूर्ति बढाउन सकिने भएकाले ग्यासको अभाव नरहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । उनले भने, कोरोना भाइरसको त्रासले मान्छेले ‘एक्स्ट्रा सिलिन्डर’ थप गर्दा अलिकति असहज भएको हो तर मागअनुसारको आपूर्ति गरिसकेका छौँ, बिक्रीवितरण पनि भइरहेको छ, बजारमा ग्यास छ ।

माग बढेपछि निगमले सार्वजनिक बिदाका दिनमा पनि भारतबाट ग्यास आपूर्ति गरेको छ । आइतबार मात्रै ५० वटा ग्याँस बुलेट आपूर्ति गरिएको पौडेलले जानकारी दिएका छन् । सिलिन्डर भर्ने बजारमा लैजाने फेरि बजारबाट उठाएर भर्न लैजाने जुन सिलिन्डरको साइकल छ त्यो पूरा नभएर असहज देखिएको छ । भरेका सिलिन्डर घरघरमा थन्किएकाले साइकललाई प्रभाव पारेको निगमले जनाएको छ । उनको भनाइ छ, खाली सिलिन्डर लिएर एकैचोटी मान्छे भर्न आउँदा दबाब परेको हो, आपूर्ति बढाएका छौँ, जतिवटा सिलिन्डर लिएर आए पनि ग्यास पाइन्छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्