Logo

पाँच बर्षमा ४९ अर्ब ७२ करोडको विजुली निर्यातको लक्ष्य



काठमाडौं, फागुन २७ । नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने भएको छ ।

हाल झण्डै २० अर्ब बराबरको विद्युत् आयात भइरहेको बेला विद्युत् प्राधिकरणले यति धेरै विद्युत् निर्यात गर्ने गरी योजना बनाएको हो । विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा २०७७÷०७८ अर्थात् आगामी वर्षदेखि विद्युत् निर्यात गर्ने उल्लेख छ ।

चालू वर्षमा विद्युत् निर्यात नभए पनि २०७७÷७८ मा १ अर्ब ६ करोड ३० लाख, २०७८÷७९ मा ८ अर्ब १८ करोड ३० लाख, २०७९÷८० मा १७ अर्ब ५३ करोड ८० लाख तथा २०८०÷८१ सालमा २२ अर्ब १३ करोड ८० लाख निर्यात गर्ने योजना प्राधिकरणको छ ।

पाँच वर्षभित्र प्रति व्यक्ति खपत ७ सय युनिट पुर्‍याउने लक्ष्य राखेको प्राधिकरणले पाँच हजार मेगावाट वितरण गर्न सक्ने क्षमता पुर्‍याउने योजना छ । आगामी वर्षदेखि विद्युत् खेर जाने भन्दै विद्युत् प्राधिकरणले विद्युत् निर्यातको योजना अघि बढे पनि कसरी निर्यात गर्ने भन्ने टुंगो लागेको छैन ।

विशेष गरी सरकारले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना बनाएको आजको कारोबार दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्