Logo

भारतीय राजदुत क्वात्रा र सभामुुख सापकोटाबीच भेट



दूरगामी महत्वका सम्झौताहरु भएकोमा खुशी व्यक्त
काठमाडौं, २७ फागुन । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत क्वात्राले सापकोटालाई बधाई ज्ञापन गर्दै नयाँ कार्याकालको शुुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख सापकोटाले भारत नेपालको असल छिमेकी भएको चर्चा गर्दै दुुई देशबीचको सम्बन्ध प्राकृतिक भएको बताएका थिए । दुुई देशबीच कुटनैतिक सम्बन्ध स्थापना भएको ७३ बर्ष पूरा भएको स्मरण गर्दै सभामुख सापकोटाले नेपाल र भारतबीच सरकार, संसद र जनस्तरसम्म सम्बन्ध रहेको पनि स्पष्ट पारेका छन् ।

नेपालमा २०७२ साल बैशाखमा विनाशकारी भूकम्पपछि उद्दार, राहत एवं पुनर्निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिंदै उनले दुुई देशबीच पछिल्लो समय दूरगामी महत्वका सम्झौताहरु भएकोमा खुशी व्यक्त गरे ।

साथै, दुई देशबीच केही छलफल गर्नुपर्ने विषय रहेको बताउँदै सभामुख सापकोटाले दुुबै देशमा बलियो र स्थायी सरकार रहेकोले सम्बन्ध विस्तारका लागि बिरलै प्राप्त हुने अवसर रहेको चर्चा गरे ।

भारतीय राजदुत क्वात्राले दुुई देशबीच व्यापक र गहिरो सम्बन्ध रहेको बताउँदै सभामुख साकोटाको कार्याकालमा यो सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरे । उनले शान्ति, विकास र सम्बृद्धि नेपाल–भारत सम्बन्धमा गहिरो स्तम्भ भएको बताउँदै छलफलका माध्यमबाट दुुई देशबीचका समस्या समाधान गर्न सकिने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्