Logo

जुद्ध शमशेरका पनातिले ढाल्ने भए मध्यप्रदेश कँग्रेस आई सरकार



एजेन्सी, २७ फागुन । अहिले भारतमा ज्योतिरादित्या सिन्धिया चर्चामा छन् । उनले मध्य प्रदेशमा कमलनाथ नेतृत्वको कँग्रेस आईको सरकार ढाल्ने निश्चित देखिएको छ ।

४९ वर्षीय सिन्धिया ग्वालियरको पूर्व राजपरिवारका सदस्य हुन् । उनका हजुबाबु जिभाजिराओ सिन्धिया ग्वालियरका राजा थिए । सन् १९४७ मा ग्वालियर स्वतन्त्र भारतमा मिलेपछि उनका बाबु माधवराओ सिन्धियाले महाराजाको उपाधि पाएका थिए । तर, सन् १९७१ को संविधान संशोधनपछि त्यो उपाधि खोसिएको थियो ।

ज्योतिरादित्या सिन्धियाको साइनो नेपालसँग पनि छ । उनकी आमा माधवी राजे सिन्धिया हुन् । जसको खास नाम किरण राज्यलक्ष्मी देवी शाह हो । किरण राणा प्रधानमन्त्री जुद्ध शमशेर जङ्गबहादुर राणाकी नातिनी हुन् ।

४९ वर्षीय ज्योतिरादित्या सिन्धिया १९ वर्ष अघि राजनीतिमा आएका थिए । पिता माधवराओ सिन्धियाको उत्तर प्रदेशमा विमान दुर्घटनामा निधन भएपछि उनी राजनीतिमा आएका थिए । त्यसपछि उनले कहिले चुनाव हारेनन् । कँग्रेस आई नेतृत्वको सरकारमा राज्यमन्त्री समेत भए । सिन्धिया भारतका धनाढ्य नेताहरुमध्ये पर्दछन् ।

देहरादुनमा विद्यालय स्तरको पढाई पूरा गरेका सिन्धियाले अमेरिकाको हावर्ड विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरेका थिए । उनले स्टानफर्ड विश्वविद्यालयबाट एमबीए गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्