Logo

कोरोनाले विदेश जानेलाई धक्का, रेमिट्यान्समा पर्दैछ यस्तो असर



फागुन २७, काठमाण्डौ । कोभिड–१९ को कारणले नेपालको प्रमुख श्रम गन्तव्यमध्ये एक कतारले नेपाली श्रमिकलाई अस्थायी प्रतिबन्ध लगाएसँगै नेपाली अर्थतन्त्रमा धक्का पुग्ने देखिएको छ । दैनिक सयौँ नेपाली युवा कतार जाने गरेका थिए । तर तत्कालका लागि रोकिएपछि यसको असर नेपाली अर्थतन्त्रमा देखिने निश्चित छ ।

वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ । कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो ।

विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको हो । विभागले अर्को सूचना जारी नभएसम्म कतारका लागि श्रमस्वीकृति नदिने भएको हो ।

गत साता बहराइन र कुवेतले नेपाली कामदारलाई नयाँ भिसा नदिने निर्णय गरेका थिए । सोमबार त्यस्तै निर्णय कतारले गर्यो । नेपाली अर्थतन्त्रको २४ प्रतिशत हिस्सा ओगटेको रेमिट्यान्समा १८ प्रतिशत हिस्सा कतारको मात्र रहेको छ ।

कतारको सञ्चार कार्यालयले सोमबार सूचना जारी गर्दै नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै भिसा लागेर उड्ने तयारीमा रहेका र बिदामा घर फर्किएका नेपाली कामदार तत्काल जान नपाउने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल बताउँछन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा १२ हजार २७४ जनाले कतार जान नयाँ श्रम स्वीकृति लिएका छन् । कतारमा साढे चार लाख नेपाली श्रमिक रहेको विभागको तथ्यांक छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा कतारबाट ५३ अर्ब ९३ करोड रेमिटेन्स भित्रिएको छ । रेमिटेन्स भित्रिनेमा कतार पहिलो स्थानमा छ ।

कोरोनाको फैलावट, उपचार तथा रोकथाममा लाग्ने समय हेर्दा कतारको अस्थायी प्रतिबन्ध छिटै खुल्ने देखिँदैन । यसले भविष्यमा नेपाल भित्रिने रेमिट्यान्समा कमी आउने निश्चित छ ।

तर अहिले तत्कालका लागि भने रेमिट्यान्समा कमी नआउने अर्थविद् रामेश्वर खनाल बताउँछन् । नेपालबाट कतार नजानु र कतारबाट नेपाल पनि फर्किन नपाउने भएकाले पनि रेमिट्यान्समा असर नपर्ने खनाल बताउँछन् । यद्यपी कोरोनाको संक्रमण थप २–३ महिना लम्बियो भने रेमिट्यान्समा पनि कमी आउने निश्चित रहेको खनालको दावी छ ।

नेपालले कतार, यूएई, जापान, दक्षिण कोरिया, बहराइन, इजराइल, जोर्डन, र मलेसियासँग श्रम सम्झौता गरेको छ । नेपालमा कोरोना संक्रमण नफैलिए पनि हाम्रो मुलुकको सामथ्र्य, तयारी, अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अपनाइएको सुरक्षा लगायत विश्लेषण गरेर कतारले प्रतिबन्ध लगाएको हो ।

अन्य खाडी मुलुकले पनि प्रतिबन्ध लगाए भने नेपाली अर्थतन्त्र थला पर्ने विज्ञहरु बताउँछन् । लगानी र पुँजी निर्माणको माध्यमबाट प्रत्यक्ष रुपमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आएको रेमिटेन्स आप्रवाहमा कमी आएमा यी सूचकमा प्रतिकूल असर पर्ने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot