Logo

अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे



काठमाडौँ, २८ फागुन । कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने उत्साहवद्र्धक अर्थात् करिब ८० प्रतिशत रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

कोरोनाका कारण अन्तरराष्ट्रिय उडान अहिले २० प्रतिशतमात्र कटौती भएको हो । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कोरोनाको प्रभावले अन्तरराष्ट्रिय उडानका हवाई यात्री घटे पनि जहाजको उडान सङ्ख्यामा भने कमी नआएको बताएका छन् । अन्तरराष्ट्रिय हवाई मापदण्डअनुरुप हवाई उडान रोक्न नमिल्ने भएकाले धेरै वायु सेवा प्रदायकले उडान नरोके पनि उडान घटाइरहेका छन् । कोरोना भाइरस प्रभावित मुलुकबाट हुने दुवैतर्फी उडानमा भने भारी कटौती भएको छ । तथापि अन्य मुलुकका उडानमा त्यति धेरै समस्या नरहेको प्राधिकरणको भनाइ छ ।

अन्तरराष्ट्रिय यात्रु घटेपछि विमानस्थलको आर्थिक आम्दानीमा पनि गिरावट आउने आङ्कलन गरिएको छ । विमानस्थल सेवाबापत वार्षिक छ अर्बभन्दा बढी कमाउने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कोरोनाका कारण करिब रु चार अर्ब आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । प्राधिकरणको मुख्य आम्दानी गर्ने अन्तरराष्ट्रिय विमानस्थल हो । अरू विमानस्थल नाफामै भए पनि सञ्चालन खर्च धान्नै मुस्किल हुने प्रवक्ता क्षेत्रीले बताएका छन् । “कोरोनाको त्रासले विदेशी यात्री घटेपछि विमानस्थललाई पनि आर्थिक नोक्सानी हुन्छ, हाम्रो ९प्राधिकरण०को मुख्य आम्दानी नै अन्तरराष्ट्रिय विमानस्थल हो, यसका यात्री घटेपछि स्वाभाविक रुपमा आम्दानी घट्छ”, उनले भने ।

प्राधिकरणका अनुसार अन्तरराष्ट्रिय विमानस्थलबाट अघिल्लो यही याममा दैनिक १०० देखि ११० सम्म अन्तरराष्ट्रिय उडान हुन्थ्यो भने अहिले दैनिक सरदर ८० देखि ८५ उडान हुने गरेको छ । ठूलो सङ्ख्यामा उडान भइरहे पनि यात्रुको सङ्ख्या ह्वात्तै घटेको छ । यसले विमानस्थलको विजिनेसलाई समेत नराम्रो असर पारेको सरोकारवालाको भनाइ छ । पहिला अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुन्थ्यो भने अहिले पाँचदेखि ५५ हजार मात्रै यात्रु आगमन भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्