काठमाडौं, २८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति सञ्चयको संघर्ष चलिरहेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्कमल दाहालबीच चलेको यो संघर्षमा बरिष्ठ नेता माधव कुमार नेपाल निर्णायक मानिएका छन् ।
पछिल्लो समय नेता नेपालले अध्यक्ष ओलीविरुद्ध खडा भएको दाहाल नेतृत्वको मोर्चालाई साथ दिएपछि ओली अल्पमतमा परेका हुन् । उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित् निवासमा भएको भेलापछि ओली सबै मोर्चामा अल्पमतमा परेका हुन् ।
सचिवालयका ९ सदस्यमध्ये अध्यक्ष ओलीसँग ईश्वर पोखरेलमात्रै छन् । बाँकी ७ सदस्यहरु अध्यक्ष दाहालको पक्षमा छन् । कतिसम्म भने महासचिवसमेत रहेका सचिवालय सदस्य विष्णु पौडेल अहिले ओली क्याम्प छोडेर दाहाल क्याम्पमा गएको चर्चा छ । उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने सवालमा पनि पौडेलले दाहाललाई साथ दिएका थिए ।
अहिले ओली पक्षधर नेताहरु माधव नेपाललाई फकाउन व्यस्त छन् । अध्यक्ष ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर अस्पतालमा आराम गरिरहेका छन् । उनको उपचारमा संलग्न चिकित्सकहरुले दिएको जानकारीअनुसार उनी सम्भवतः आज वा भोलिभित्रै डिस्चार्ज हुनेछन् । तर, आफूहरुलाई कन्फिडेन्स नभएसम्म डिस्चार्ज नगर्ने भनेर ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले बताईसकेकी छिन् ।
यता, ओली पक्षधर नेताहरु ईश्वर पोखरेल, विष्णु रिमाल र डा. राजन भट्टराई भने नेता नेपालसँगको भेटवार्तामा व्यस्त छन् । हिजोमात्रै पोखरेलले नेता नेपालसँग घण्टौं गोप्य भेटवार्ता गरेको बुझिएको छ । पोखरेललगत्तै राजन भट्टराई र विष्णु रिमालले पनि नेता नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । ओली पक्षधर नेताहरु नेपालसँग भेटवार्तामा व्यस्त हुनुका कारण भने आफ्नो क्याम्पमा राख्नु भएको बुझिएको छ । file photo