काठमाडौं, २८ फागुन । पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको निजी निवासमा आज बम विस्फोट भएको छ । उक्त विस्फोटबारे बाँस्कोटाले गम्भिर छानबिन हुनुपर्ने माग गरेका छन् । पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै उनले भनेका छन्,‘यो प्रकरणमा गम्भिर छानबिन हुनुपर्छ । दोषीलाई कारबाही हुनुपर्छ ।’
उनले ७० करोडको कमिशन मागेको अडियो प्रकरणबारे आफूले अदालतमा मुद्दा दिईसकेको समेत जनाए । उनले भने,‘मैले अदालतमा मुद्दा हालेको छु, त्यो सबैलाई थाहा छ । ममाथि पनि छानबिन हुनुपर्छ भनेको छु् ।’
बाँस्कोटाको निर्माणाधीन घरमा विष्फोट प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको देखिएको छ । बिष्फोट गराइएको घरमा नेपाल कम्युनिस्ट पार्टीको नाममा पर्चा भेटिएको छ । पर्चामा बाँस्कोटाको घरमा आक्रमण गर्नुको कारणसहितको बुँदा उल्लेख छ । जसमा उनले करोडौं भ्रष्टाचार गरेको आरोप छ । सञ्चारमन्त्री हुँदा करोडौं कमिशन मागेको देखि देशलाई नोक्शान पुर्याइएको आरोप छ ।
बाँस्कोटाको निर्माणाधिन घरमा आज बुधबार बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको थियो । उक्त विष्फोटको प्रारम्भिक अनुसन्धानमा विप्लव नेतृत्वको प्रतिबन्धित समूह संलग्न देखिएको प्रहरीको भनाइ छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनास्थलमा सञ्चारकर्मीसँग प्रतिबन्धित समूहलाई लक्षित गरेर अनुसन्धानको दायरालाई साँघुरो बनाएका बताएका छन् ।
यस्तै, प्रतिबन्धीत नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदांगो पारेकाले कारबाही गरिएको भनिएको छ । सेक्युरिटी प्रिन्टर प्रेस खरिद प्रकरणमा कमिशनको टेप बाहिर आएपछि बाँस्कोटाले सञ्चारमन्त्रीले राजीनामा दिएका थिए । file photo