Logo

सर्वदलीय बैठक: अस्पताल तयारी अवस्थामा राख्नेदेखि संक्रमित देशसँग आवातजावत रोक्ने (फोटोफिचर)



काठमाडौं, २८ फागुन । कोरोना भाईरस (कोभिड–१९) बारे छलफल गर्न सरकारले डाकेको सर्वदलीय बैठक सम्पन्न भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकमा कोरोनाबारे सही सुचना प्रवाह नभएकोबारे गुनासो भएको थियो । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रतिनिधिहरुले सुझाव तथा सरकारको ध्यानाकार्षण गराएका थिए ।

अबदेखि कोरोनाबारे सरकारको तर्फबाट सुचना प्रवाह गर्दा एकद्धार प्रणालीबाट गर्ने सहमति भएको छ । सरकारको तर्फबाट स्वास्थ्यमन्त्री वा प्रवक्तामध्ये एक जनाले मात्रै सुचना प्रवाह हुने भएको छ । बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले आफूहरुले अहिलेसम्मको तयारी के छ ? भनेर सरकारलाई प्रश्न गरेको सुनाए ।

उनले भने,‘हामीले सबैभन्दा कन्र्सनको कुरा, अस्पतालको तयारी सन्दर्भमा राखेका थियौं । नेपालमा अस्पतालको सेवा लिने अवस्थाबारेपनि कुरा राखेका थियौं, अहिले सरकारी अस्पतालमा ७० वटा आईसियु बेड छन्, निजी गरी जम्मा १५० बेड पुग्छ । ठूलो संक्रमण भयो भने सेवा दिने अवस्था छैन् भन्नेबारे कुरा राखेका थियौं ।’

त्यस्तै, स्रोत र साधानबारे कुरा राखेका, र निजी अस्पतालसँग साझेदार गर्नपनि सुझाव दिएको उनले सुनाए । उनले थपे,‘क्रिटिकल केयर दिने सवालमा हामीले यो कुरा राखेका थियौं, सरकारको तर्फबाट उहाँहरुले पूर्ण तयारीमा बस्छौं भन्नुभयो ।’ थापाकाअनुसार भक्तपुरको खरिपाटीजस्तो अरुपनि क्वारेन्टाईनको व्यवस्था गर्न भनिएको छ । क्वारेन्टाईनको व्यवस्थापन नेपाली सेनाको नेतृत्वमा वीरेन्द्र सैनिक अस्पताललाई उपयोग गर्नेबारे पनि कुरा भएको छ।

त्यस्तै, सरकारले अहिले नै नेपाल कोरोनाबाट आँत्तिनुपर्ने अवस्था नभएको र अण्डर कन्ट्रोल छ भनेर आश्वस्त पारेको पनि थापाले सुनाए । ‘कोरोनाको कारण विश्वको अर्थतन्त्रमा ठूलो असर परेको कुरा पनि उठेको थियो, यसको सवालमा नेपालमा त्यस्तो असर नपरेको कुरा आएको छ । भारतसँग हाम्रो ठूलो व्यापार भएको कारणले नेपालको पर्यटनमा प्रभाव परेको छ । तर, ठूलो असर परेको छैन् । र, आँत्तिनुपर्ने अवस्था छैन् भनेर सरकारको तर्फबाट कुरा आएको छ। केही दिनभित्र नयाँ प्याकेज ल्याउँछौं भनेर अर्थमन्त्रीले भन्नुभएको छ । अर्थमन्त्रीले प्याकेज ल्याउँछु भन्नुभयो ।’

उनले अस्पतालआधारित तयारीको अवस्था र नेपाल आउने नाकाका सवालमा बढि कुरा भएको पनि जानकारी दिए । ‘अहिले नेपालको १२१ नाका छन्, त्यसमा पनि निकै कममा मात्रै हाम्रो उपस्थिति छ, यसबारेमा पनि माग तुरुन्त पूरा गर्छु भन्नुभएको छ ।’ चेकजाँच तथा स्वास्थ्योपचारमा खटिने र अघिल्लो लाईनमा बस्ने कर्मचारीहरुकोको लागि प्रोत्साहन र विमाकाृे कुरा उठेको र यसमा पनि सरकारले छिट्टै प्याकेज ल्याउने विश्वास दिलाएको थापाको भनाई छ ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित भएका देशबाट नेपाल आउने नेपालीहरुले आफ्नै खर्चमा क्वारेन्टाईनमा बस्नुपर्ने बताए । उनले यसको लागि उनीहरुले आफैं सचेतना अपनाउनुपर्छ भन्ने धारणा राखे । उनले भने,‘उहाँहरु सेल्फ बस्नुपर्छ, यदि कोरोना भएको पुष्टि भए सरकारले उपचार गर्छ ।’

नेपालमा कोरोनाको संक्रमण भित्रिन नदिनको लागि आजको बैठकमा सहभागी सबै दलका नेताहरु सहमत भएका छन। आजको छलफलमा नेकपाबाट पूर्वमन्त्रीत्रय पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल र माधवकुमार नेपालको सहभागिता थियो । त्यस्तै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको पनि सहभागिता थियो ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट बालकृष्ण खाँण र गगन थापा, र राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ रहेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्