काठकाडौँ, २९ फागुन । मकवानपुरको अत्याधिक चिसो हुने पहाडी क्षेत्रका मकै उत्पादक किसानले यो वर्षका लागि मकै रोपेका छन् । मकै रोप्ने ऋतुमा परेको वर्षाले मकै रोप्न कठिनाई भए पनि कैलाश र राक्सिराङ गाउँपालिकाका पहाडी भेगमा ९० प्रतिशत मकै रोप्ने काम भएको जनप्रतिनिधिले जानकारी दिएका छन् ।
हिमालको नजिकै रहेको अत्याधिक चिसो ठाउँको रुपमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं २ को वैकुण्ठ, कैलाश, सानो डाँडाखर्क जस्ता स्थानहरु पर्दछन् । त्यसैगरी, राक्सिराङ गाउँपालिकाको वडा नं ६, ७ र ८ का पहाडी भेगहरु पनि अत्याधिक चिसो हुने क्षेत्रहरु हुन् । पछिल्ला १५ दिनयता पहाडी भेगहरुमा ९० प्रतिशतभन्दा बढी सुख्खा बारीमा मकै रोप्ने काम सकिएको कैलाश गाउँपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र घिसिङले बताएका छन् ।
पहाडी भेग (लेक) मा मकै रोपिए पनि बेसीतर्फ भने मकै रोप्न बाँकी नै छ । कैलाश गाउँपालिकाको वडा नं २ कै छ्याङदुङसहित राक्सिराङका अधिकांश तल्लो भेगहरुमा मकै रोप्ने कार्य अझैं १ महिनापछि मात्रै हुने किसानहरुले बताएका छन् । अहिले परेको हिउँदे बेमौसमको भएकाले यस्तै झरी चैतको तेस्रो सातामा परेमा मकै किसानहरुलाई राहत मिल्ने कैलाश गाउँपालिका वडा नं ७ का किसान नेत्र चेपाङले बताए । ‘अहिले पानी परेकाले खेत हुनेहरुलाई मकै रोप्न सजिलो भएको छ’, नेत्रले भन्नुभयो–‘बारीमा मकै रोप्नका लागि चैतको तेस्रो साता पनि झरी परिदियो भने राम्रो हुनेछ ।’
कैलाश गाउँपालिकाको खेतीयोग्य जमीनमध्ये ८० प्रतिश भूभागमा मकै मात्र खेती हुने गरेको कैलाश गाउँपालिका कृषि शाखाले जानकारी दिएको छ । तर, कतिपय वर्षहरुमा लामो समय खडेरी पर्ने र कहिले निरन्तर झरी पर्ने हुनाले मकै खेती प्रभावित हुनेगरेको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताएका छन् । (गोरखापत्र दैनिकबाट)