Logo

दीर्घकालीन समाधान दिँदैन सरकार



काठमाडौं, २९ फागुन । सस्तो छ। छिटो सेवा प्राप्त हुन्छ र लोकप्रिय छ। तर, राइड सेयरिङसम्बन्धी कानुन छैन। यो सेवाबारे सरकार स्पष्ट हुन नसक्दा प्रतिबन्ध लगाउँदै आएको छ। यातायात व्यवस्था विभागले मंगलबार पुनः राइड सेयरिङ प्रतिबन्ध लगाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा निजी सवारीले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था छ। विभागले यही कानुनको आधारमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन भने असफल हुँदै आएको छ। गत वर्ष पुसमा पनि विभागले राइड सेयरिङमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तर प्रधानमन्त्री केपी ओलीले आवश्यक परे कानुनी व्यवस्था सुधार गरेरै यस्ता नवप्रवर्तनमा आधारित सेवा नरोक्न निर्देशन दिएका थिए।

राइड सेयरिङ सेवा पठाओका सञ्चालक असीममान बस्नेतले उच्च अदालत पाटनले कानुन बनाएर यो व्यवसाय सञ्चालन गर्न अन्तरिम आदेश जारी गरिसकेकाले यसलाई अवैधानिक व्याख्या गर्न नमिल्ने बताए। उनका अनुसार मस्यौदाका क्रममा संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा राइड सेयरिङसम्बन्धी मापदण्ड र नियमनको व्यवस्था हुन लागेको छ। राइड सेयरिङ विश्वभर लोकप्रिय छ। नेपालका सेवा प्रदायकले पनि नियमन गर्न र कानुनको अधीनमा ल्याउन आग्रह गरेका छन्। तर सरकारले अहिलेसम्म यसलाई कुनै विकल्प दिन सकेको छैन। (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्