Logo

काभ्रेका होटल सुनसान, राहतको माग



काठमाडौँ, २९ फागुन । कोरोना भाइरसको प्रभाव काभ्रेपलाञ्चोकका होटलमा पर्न थालेको छ । पर्यटकको मुख्य सिजनमै कोरोनाको कारण बाह्य तथा आन्तरिक पर्यटक आउन छाडेपछि यहाँका होटल सुनसान हुन थालेका छन् ।
बाह्य पर्यटकले बुक गरेका होटलका रुम धमाधम क्यान्सिल गर्न थालेको होटल व्यवसायीले बताएका छन् ।

चिसो हावा, पानी र नजिकैबाट हिमालको अवलोकन गर्नुसँगै उपत्यकाबाट नजिक रहेको काभे्रका होटल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेका थिए तर कोरोना भाइरसका कारण बिस्तारै होटल सुनसान हुन थालेका छन् । सङ्घ, प्रदेश सरकारका गोष्ठी, सेमिनार, बैठकलगायतका लागि पनि काभ्रेका होटल छनोट हुने गरेका थिए तर ती सबै कार्यक्रम स्थगन हुँदा काभ्रेका होटल झनै सङ्कटमा परेको व्यवसायीको भनाइ छ । क्षेत्रीय होटल एसोसिएसनका अध्यक्ष एवं धुलिखेल लज रिसोर्टका सञ्चालक पे्रमकण्ठ श्रेष्ठले कोरोनाको त्राससँगै पर्यटक आगमन घटेको बताएका छन् । उनले भने, सभा, सम्मेलन, गोष्ठी हुन्थे, त्यसले पनि काभे्रका होटललाई ठूलो राहत हुन्थ्यो तर सबै कार्यक्रम स्थगन हुँदा होटल सुनसान हुँदै गएका छन् ।

उहाँले भूकम्पको भन्दा पनि बढी जोखिम कोरोनाका कारण भएकाले सरकारले होटल व्यवसायीलाई राहत व्यवस्था गर्नुपर्ने माग गरे । बैङ्कबाट करोडौँ रुपियाँ ऋण लिएर चलाएका छौँ, सरकारले राहत दिएन भने हाम्रो व्यवसाय धरापमा पर्छ, श्रेष्ठले भने । उनले काभ्रेका होटलमा अर्बौंको लगानी रहेकाले धेरै समय व्यवसाय सञ्चालन हुन सकेन भने होटल व्यवसाय नै धरापमा पर्ने चिन्ता व्यक्त गरे । धुलिखेल, नगरकोट, नमोबुद्ध, बल्थली, दोलालघाट लगाएतका पर्यटकीय स्थलका होटल तथा रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा सुनसान देखिन थालेको उनको भनाइ छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्