Logo

विदेशको पुँजी, स्वदेशमा उद्यमी



काठमाडौँ, २९ फागुन । वैदेशिक रोजगारीमा गएका युवाले पैसा मात्र पठाएका छैनन् कतिपयले विदेशबाट कमाएर ल्याएको पैसा जम्मा गरी स्वदेशमा नै उद्यमी बनेका छन् । वैदेशिक रोजगारीमा गएर स्वदेश फर्की स्वदेशमा नै उद्यमी बनेका यस्तै सफल उद्यमी हुनुहुन्छ नवलपरासी सुनवलमा सापकोटा कृषि फारम सफल रूपमा सञ्चालन गर्दै आउनुभएका युवा उद्यमी तेज नारायण सापकोटा ।

तेजनारायण सापकोटा र उहाँका भाइ कृष्णधर सापकोटाले वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा २० वर्ष बिताउनु भएको हो । होटल, रेस्टुरेन्ट, प्राइभेट कम्पनीलगायतका विभिन्न स्थानमा काम गरी साउदीमा २० वर्ष बिताएका सापकोटा दुई भाइले नेपालमा फर्किंदा स्वदेशमा नै उद्योग खोल्न पुग्ने गरी पुँजी जम्मा गरी फर्किएको सापकोटा कृषि तथा पशुपालन फार्म सुनवल बडेराका सञ्चालक तेजनारायण सापकोटाले बताएका छन् ।  सापकोटा दाजुभाइको विदेशमा कमाएको पैसा जम्मा गरी नेपालमा नै उद्यमी बन्ने धोको अहिले बल्ल पूरा भएको तेजनारायणले बताए । सापकोटा दुई भाइले विदेशमा कमाएको १८ लाख रुपियाँ जम्मा गरी सुनवलको बडेरामा कृषि तथा पशुपालन फारम स्थापना गरेकोमा अहिले करिब डेढ वर्ष पार गरिसक्दा आम्दानी सन्तोषजनक रहेको बताए । यो कृषि उद्योगलाई अझै लगानी थप गरी व्यवस्थित बनाउने योजनामा रहेको उनले बताए । यस कृषि तथा पशुपालन फार्ममा गाई र भैँसी गरी १५ वटा दुधाला बस्तु छन् । यो फारममा दुई भाइसहित छ जनाले रोजगारी पाएका छन् । पर्मबाट दैनिक चार हजार लिटर दूध उत्पादन हुँदै आएको बताइएको छ । यसैगरी सुनवल ४ स्थित मणि पशुपालन फारममा एवं मणि दूध डेरी उद्योगका सञ्चालक वेदमणि पौडेलले पनि दुग्ध उद्योग सञ्चालनका लागि वैदेशिक रोजगारीबाट जम्मा गरेको पुँजी प्रयोग गरेको बताएको हो । उक्त डेरी उद्योगमा तिन भाइ वेदमणि पौडेल, कपिल पौडेल एवं घनश्याम पौडेलले १५ वर्ष विदेशमा कमाएको पैसा लगानी गरेको हो ।

सामान्य किसान परिवारका पौडेल दाजुभाइले गाउँमा ऋण लिए वैदेशिक रोजगारीमा गएको र विदेशमा लामो समय काम गरी जम्मा गरी राखेको १५ लाख रुपियाँबाट पशुपालन सुरु गरेको बताइएको छ । वेदमणिले २०७२ सालमा सुरु गरेको मणि पशुपालन फार्मबाट उत्पादित दूध बेच्न मणिका दुवै दाइभाइले वैदेशिक रोजगारीमा कमाएको रकम र केही बैङ्कबाट लिएको रकम गरी पाँच/पाँच लाख जम्मा गरी दुईवटा डेरी उद्योग सञ्चालन गर्दै आएको उद्योगका सञ्चालक कपिल पौडेलले बताएको छ । यसैगरी वैदेशिक रोजगारीमा गई फर्केका युवाले कृषि उद्यमसहित गार्मेन्ट उद्योग, ग्रिल उद्योग, जैविक मल उद्योगलगायतका उद्योगमा लगानी गरेका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्