Logo

यो सबै वाइयात हल्ला हो- प्रदीप पौडेल



काठमाडौं, २९ फागुन । प्रदीप पौडेल उदीयमान र भविष्य बोकेका नेताको परिचय बनाउन सफल छन् । नेपाली काँग्रेसमा पछिल्लो समय टकराव बढिरहँदा पौडेल तेस्रो पुस्तामा दरिलो रुपमा प्रस्तुत हुँदै बढिरहेका छन् । उनीसँग ऋषि धमलाले एनआरएन रेडियोका लागि गरेको विशेष कुराकानीः
अहिले नेपाली कांग्रेसमा तीनवटा समूह देखिएका छन्, तपाईं कुन समूहमा हुनुहुन्छ ?
त्यो हाम्रो नितान्त आन्तरिक मामला हो । त्यसलाई यो समूह, ऊ समूहमा छु भनेर आधिकारिता दिने विषय होइन । पार्टीभित्र गुट निर्माणको प्रक्रिया भइरहन्छ । खाली गुटका केका लागि आपूm बलियो हुन हो कि वैचारिक बहसलाई ठूलो बनाउने भन्ने मूख्य कुरा हो । यो कांग्रेस पार्टीभित्र रणनीतिक उपयोगका निम्ति खडा गरिएको विषय हो ।
तपाईले त सिटौलालाई छोड्नुभयो भन्ने बाहिर आएको छ नि ?
यो सबै वाहियात कुरा हो । म कता छु के छु भन्ने कुनै आधिकारिक विषय होइन । यो हाम्रो पार्टीको आन्तरिक विषय हो । कुनै वैचारिक आधारमा पोलराइजेसन भएको होइन । व्यवहारिक हिसाबले त्यहाँभित्रका नेतासँग नजिक हुने कुरा होला । तर, हाम्रो आफ्नो विषय हो ।
रामचन्द्र पौडेलले त प्रतिप पौडेल पनि सिटौलालाई हामीसँग आउनुभयो भन्नुभयो नि ?
हाम्रा नेताहरु हाम्रा अभिभावकहरु हुन् । त्यसमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा अथवा कृष्णप्रसाद सिटालाले अभिभावकत्व ग्रहण गर्ने, कार्यकर्ताको संरक्षण गर्ने र क्षमता अनुसारको अवसर दिने भन्ने स्वाभाविक कुरा हो । त्यसलाई म अन्यथा लिन्न ।
त्यसोभए अब तपाईं रामचन्द्र पौडेललाई साथ दिनुहुन्छ ?
यो आम रुपमा जनतासँग सरोकार राख्ने विषय होइन ऋषिजी । आज कांग्रेस पार्टी कहाँ छ ? देशको समस्या के हो, कुन ढंगले अगाडि बढ्नुपर्छ त्यो हो आजको विषय । हाम्रो नेताहरु सम्मानित, मर्यादित हुनुहुन्छ, त्यसकारण उहाँहरुलाई सम्मान गर्ने एउटा विषय भयो । उहाँहरुले आपूm अभिभावगत्व लिन्छु भविष्य बनाउछु भन्ने पनि स्वाभाविक विषय हो । त्यसैले यो सार्वजनिक महत्वको हो भन्ने लाग्दैन । मूख्य विषय भनेको आज हाम्रो पार्टीले राष्ट्रिय राजनीतिमा जनताले अपेक्षा गरेअनुसारका काम गरेको छ कि छैन । त्यसमा नेतृत्वले अहिलेको समयसापेक्ष भूमिका निर्वाह गर्न सकेको छ कि छैन भन्ने विषय महत्वपूर्ण जस्तो मलाई लाग्छ ।
प्रतिपक्षको भूमिकामा कांग्रेस चुकिरहेको छ नि ?
हाम्रो पार्टीका हामी कार्यकर्ता हौं । त्यसकारण आफ्नो पार्टीका कति कुराहरु बाहिर लाने भन्ने सीमाहरु हुन सक्छन् । तपाईंले भनेजस्तै प्रतिपक्षको भूमिकामा हामी आफैले अपेक्षा गरेअनुसार पनि हुन सकेको छैन । यसको प्रमाण देशको एउटा महत्वपूर्ण मन्त्रालयको मन्त्री भ्रष्टाचारको विषयमा बार्गेनिङ गरेको विषय त्यति ठूलो प्रमाणसहित बाहिर आयो । उसको राजीनामा पछि त्यसै छुटकारा पाउने अवस्थामा पुगिसकेको छ । त्यसमा समेत दह्रो खुट्टा टेक्न नसकेको अवस्था छ । त्यो विषयमा न संसद्मा दह्रो ढंगले कुरा उठायौं । न संसद् बन्द गर्न सक्यौं, न संसद् अवरोध गर्न सक्यौं न त त्यो विषयलाई सशक्त ढंगले जनतासमक्ष लान सक्यौं । त्यस्तै अन्य विषयहरुमा जस्तो सरकारले जसरी भ्रष्टाचारलाई संस्थागत रुपले प्रशय दिने काम गरिरहेको छ । सुशासनमा पुरै चुकेको छ । यो सरकारसँग हिजो जनताले जुन आशा र भरोसा गरेका थिए, त्यसको पुरै बिपरीत ढंगले सरकार अगाडि बढेको अवस्था छ । त्यस्ता विषयमा दह्रो कुरा उठाउन नसकेको विषयमा हामी चुकेको भन्न सक्छु । हामीले पार्टीभित्र उठाएको विषय पनि यही हो ।
यी सबै हुनमा त कांग्रेसभित्रको आन्तरिक द्वन्द्व नै मूल कारण हो भन्नेहरु पनि छन् के भन्नुहुन्छ ?
हाम्रो नेतृत्वले आफ्नो प्राथमिकता छुट्ट्याउन सकेन । त्यसमा तपाईंले भनेको विषयमा केही सत्यता छ । यतिबेला नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी नै प्राथमिकताको विषय हो । त्यो समयमै गर्नुपर्ने हो । असाधरण अवस्थामा अधिवेशन समयमै गर्नुपथ्र्यो । यस्तो असाधारण अवस्थामा पनि हामीले अधिवेशन समयमै गर्न सकेनौं । त्यसलाई विशेष परिस्थिति भनेर १ वर्ष पछि धकेल्यौं । त्यो अवधिमा अधिवेशन गर्ने कुरामा धेरै ठूलो आशंका पैदा भएको छ । किन कि यसले जुन कार्यतालिका अगाडि ल्याएको थियो, त्यो अनुसार काम भएको छैन । मंसिरभित्र सभायोजन भनेका थियौं । आज फागुन मसान्त भइसक्दा आधाभन्द केही बढी मात्रै समायोजन भएको स्थिति छ । यसले हाम्रो कार्यतालिका पुरै प्रभावित हुने अवस्थामा पुगेको छ । त्यसकारण अहिले पार्टी नेतृत्व अन्य नेताहरुले अरु कुनै कुरातिर नलागिकन अधिवेशनलाई भव्य, सभ्य र सशक्त ढंगबाट सम्पन्न गर्नेतिर लाग्नुपर्ने बेला थियो । दोस्रो विषय पार्टीभित्र आन्तरिक विषय उठाउँनु हुँदैन भन्ने होइन । आन्तरिक बहस, छलफल र फरक मतबाटै हामी आन्तरिक लोकतन्त्रमा कति सशक्त छौं भन्ने कुराको पुष्टि गर्छ । हामी नेपालको राजनीति र लोकतन्त्रमा कति प्रतिबद्ध छौं । त्यो कुराले नै भोलि नेपालको राष्ट्रिय राजनीतिमा प्रतिबद्धता देखिन्छ । त्यसैले आन्तरिक विषय उठाउँदा झन् नयाँ–नयाँ विषय कोट्याइएको छ । यसले विषयान्तर भएको देखिन्छ । अहिले भनेको १४ महाधिवेशन तोकिएकै समयमा गर्ने, आमरुपमा उठेका विषयलाई संसद्मा दरिलो ढंगले उठाउने । संसद्मा हामी थोरै छौ भएपनि त्यो उपस्थितिलाई अर्थपूर्ण ढंगले प्रस्तुत गर्ने हो ।
नवलपरासीमा सभापतिलाई हटाइएको छ, त्यसमा रामचन्द्र पौडेल सन्तुष्ट हुनुहुन्छ, कांग्रेसमा किन अराजकता आयो ?
हाम्रो विधानमा सभापति कुन अवस्थामा रिक्त हुन्छ भन्ने स्पष्ट उल्लेख छ । त्यो रिक्त भएको सभापति पदलाई कसरी पूर्णता दिने भन्ने कुरा पनि प्रष्ट उल्लेख छ । त्यसैले वैधानिक व्यवस्था जे त्यसको आधारमा पूर्णता हुनुपर्छ भन्ने स्वभाविक विषय हो । अनि विधानलाई नहेरी निर्णय गर्नु उपयुक्त हुन सक्दैन ।
तर, महासमिति नभएको मान्छेलाई सभापति बनाउन सकिँदैन भन्ने सभापति पक्षको प्रतिक्रिया आएको छ नि ?
जिल्ला सभापति हुन महासमिति सदस्य हुनुपर्छ भन्ने छैन ।
महाधिवेशन प्रतिनिधि हुनुपर्छ रे नि ?
उपसभापतिलाई मनोनित गरेर स्वतः कार्यकारी सभापति बनाउन सकिन्छ । हाम्रो वैधानिक व्यवस्था भनेको त्यो हो । वैधानिक व्यवस्था अनुसार निर्णय गर्नुपर्छ । अर्को यस्ता निर्णय गर्दा पार्टीमा सहमति लिने प्रयास पनि गर्नुपर्छ । किन कि विधानमा ब्याख्या नगरेर विषयलाई अगाडि ल्याउनको लागि आमसहमतिको आधार गरिदिनुपर्छ । त्यसैले कार्यसम्पादन र निर्णय गर्ने सन्दर्भमा यी विषयहरुलाई आधार बनाएर गरिनुपर्छ ।
शेरबहादुर देउवाले अर्जुन पोखरेललाई हटाएर आफ्नो मान्छे बनाउँदा तपाईंलाई के आपत्ति ?
अर्जुन पोखरेललाई हटाएर आफ्नो बनाएको भन्ने विषय नै आपत्तिजनक हुन्छ । पार्टीभित्र आफ्नो मान्छे भन्ने नै हुनुहुँदैन ।
सभापतिले आफ्नो मान्छे बनाउन रणनीति प्रयोग गर्न सक्नुहुन्न ?
आफ्नो मान्छे भन्ने भाषा कुनै सिद्धान्तभित्रै परेन । मैले भनेको छु, एउटा जिल्ला सभापति पद रिक्त हुँदा त्यसलाई परिपूर्ति गर्ने भन्ने व्यवस्था चाहीं हाम्रो विधानमा स्पष्ट रुपमा उल्लेख छ । वैधानिक व्यवस्था जे छ, त्यो अनुसार गरिनुपर्छ भन्ने मुख्य विषय हो ।
सभापतिले विष्णु पौडेललाई ल्याउनुभयो, तपाईंहरु किन आपत्ति मानिरहनुभएको छ ?
विष्णु पौडेल एकदम पुरानो नेता हो । उहाँ आदरणीय व्यक्ति हुनुहुन्छ, उहाँलाई बनाएको कुरा व्यक्तिगत असहमतिको कुरा भएन । तर, कुरा वैधानिक प्रक्रिया पुरा भयो कि भएन भन्ने मात्रै हो । वैधानिक प्रक्रिया पूरा नभएको अवस्थामा कुरा उठ्नुपनि स्वाभाविकै हो । त्यसलाई प्रक्रिया पुरा गरेर ल्याउनुपर्छ भन्ने विषय हो ।
महाधिवेशनको मुखमा आएर सानातिना विषय विवाद गरिरहनुभएको छ, यसले त कांग्रेस पार्टीभित्र समस्याहरु देखिन थाल्यो नि ?
हामी सभापतिको नेतृत्वमा अगाडि बढिरहेका छौं । त्यसैले कार्यसम्पादन गर्ने तौरतरिका उहाँकै सोचमा भरपर्छ । उहाँले विषय ल्याउँदा विवाद बढाउने गरी होइन, घटनाउने गरी अगाडि ल्याउनुपर्छ । यो महाधिवेशन गराउने दायित्व सभापतिको नेतृत्वमा हाम्रो पनि उत्तिकै छ । त्यसकारण नेतृत्वले निर्णय गर्दा विदास्पदमा नगरिकन गर्नुपर्ने हुन्छ । अब निर्णय गर्दा १४औं महाधिवेशनसँग सम्बन्धित विषयहरु मात्रै गर्नुपर्छ । छलफल र बहसहरु पनि त्यसैसँग सम्बन्धित हुनुपर्छ । संगठनलाई पूर्णता दिने संगठन गर्ने होइन । अधिवेशनसँग सम्बन्धित संगठनलाई पूर्णता दिनुपर्छ । अब अधिवेशनका प्रचार–प्रसार समिति गठन गर्ने, त्यसको वातावरण तयार गर्न आवश्यक छ । तर, अन्य विषय गर्न अनावश्यक मात्र होइन, गर्न खोज्ने पनि विषय होइन ।
केन्द्रीय सदस्यहरु मनोनित गर्न पाउनुहुन्न सभापतिले अहिले ?
अहिले त कार्यकालै सकिइसक्यो नि । यो त खाली कामचलाउ समिति हो । खाली महाधिवेशन सम्पन्न गर्न भएको समिति हो । त्यसकारण अहिले केन्द्रीय सदस्यहरु मनोनित गर्ने कुरा स्वाभाविक हुनै सक्दैन । यदि अन्य पार्टी आउनेलाई स्थान दिनुप¥यो भने सबैसँग बसेर सहमतिका साथ निर्णय गर्नुपर्छ । त्यसरी अन्य पार्टीबाट आउनेलाई स्वागत गर्न कसैले पनि कन्जुस्याईं गर्दैन । किन भने कुनै दलबाट हाम्रो पार्टीमा आएर कांग्रेस नै बनेर काम गर्न चाहन्छ भने त्यो कुनै गुटविशेषले मात्रै स्वागत गर्ने विषय भएन नि । ती व्यक्तिहरुलाई सबैले स्वागत गने, सबैले छलफल गरेर व्यवस्थापन गर्ने गर्न पाउनुपर्छ । अधिवेशन गर्ने जति पनि विषयहरु छन्, ती सबैलाई सहमतिका आधारमा टुंग्याउनुपर्छ । अहिले संसद्मा हामी थोरै छौं, त्यो थोरैले के गर्छ भन्ने कुरा जनताले हेरिरहेका छन् । त्यो थेरैको संख्यामा रहेको संसद्को भूमिकाले नै यसको प्रभावकारीताको मूल्याङ्कन जनताले गर्दछन् । त्यसैले संसद्मा भएको हाम्रो थोरैको भूमिकाले सडकमा र सदन्मा निर्वाह गरेको प्रभावकारी भूमिकाले नै सडक र जनतामा अर्थपूर्ण मिनिङ राख्छ ।
तपाईंहरु जहिले पनि सभापतिले राम्रो काम गर्न सक्नुभएन भनेर किन कांग्रेसलाई कमजोर बनाउने काम गरिरहनुभएको छ ?
राजनीति शास्त्रले कुनै पनि दललाई गुट बिहीन भनेर परिकल्पना गरेकै छैन । मैले पहिला पनि भनेको छु । गुटहरु व्यक्ति बलियो भनाउन लाग्छन् कि सैद्धान्तिक विचारलाई बलियो बनाउन भन्ने कुरा सच्याउन जरुरी छ ।
महाधिवेशनको बेलामा त व्यक्ति बलियो बनाउने हो नि शेरबहादुर देउवाले त फेरि म सभापति बन्छु भन्नुभएको छ नि ?
महाधिवशेनमा पनि व्यक्तिलाई बलियो बनाउने गुट बन्दैन । यसमा पनि नेपाली कांग्रेसको समाजवादलाई कसरी बलियो बनाउने भन्ने गुट बन्न सक्छ । नेपाली कांग्रेसको राष्ट्रियतालाई कस्तो बनाउने, समग्र नेपाललाई कस्तो बनाउने भन्ने एजेन्डाहरु हुन सक्छन् त्यसका बारेमा गुट बन्न सक्छ । मतान्तरका कारणले गुट बन्न सक्छ । यो महाधिवेशनमा सैद्धान्तिक विचारका आधारमा नेपाली कांग्रेसलाई कस्तो बनाउने भन्ने विषयमा गुट बन्न सक्छ । महाधिवेशनको बेलामा अझ बढी मतभिन्नता आउन सक्छन् । किन भने म ऊ भन्दा अब्बल हुँ भन्दै गर्दा फरक विषयहरु आउन सक्छन् । त्यसले कांग्रेसभित्र अझ बढी झगडा अथवा किचलो भएको भन्ने देखिन्छ । महाधिवेशनको वर्ष भएकाले त्यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । तर, त्यसका मर्यादा, सीमाभित्र रहेर गर्नुपर्छ जस्तो मलाई लाग्छ । त्यसपछि तपाईंले सभापति आक्रण गर्ने भन्ने कुरा गर्नुभएको छ । त्यो आक्रमण गरेको होइन । उहाँले पार्टीलाई कसरी चलाउने भन्ने जिम्मेवारी हो । जिम्मेवारी पाएको व्यक्तिले राम्रो उहाँलाई जस हुन्छ । राम्रा गर्न नसके उहाँलाई नै अपजस हुन्छ । हाम्रो सभापति भएकाले उहाँसँग अपेक्षा गर्ने विषय पनि स्वाभाविक हो । हामीले पनि सभापतिलाई यसो गर्दा राम्रो हुन्छ भनेर सुझाउने र कमीकमजोरी देखियो भने औल्याउने विषय पनि स्वाभाविक हो । त्यसैले नेतृत्वलाई सुधारका लागि दबाब पनि दिइन्छ, फरक मत पनि राख्न सकिन्छ र पनि नेतृत्वसँगै अगाडि बढिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot