Logo

टुटल र पठाओ बन्द नगरे ट्याक्सी सेवा बन्द गरी आन्दोलन गर्ने चेतावनी



काठमाडौं, २९ फागुन । ट्याक्सी व्यवसायी तथा चालकहरुले टुटल र पठाओ तत्काल बन्द नगरे देशभर सेवा बन्द गरी आन्दोलनको चेतावनी दिएका छन् । उनीहरुले चैत्रको पहिलो हप्ताभित्र बन्दको अल्टिमेटम दिदै आन्दोलनको चेतावनी दिएका हुन् ।

‘गैरकानुनी रुपमा निजी सवारीलाई भाडामा सञ्चालन गरिएकाले तत्काल बन्द गर्नुपर्छ,’ उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पुर्वछाने मगरले रिपोर्टर्स नेपालसँग भने,’ माग पूरा नभए देशैभर यातायात सेवा ठप्प पारेर सडकमा जान्छौं ।’ एप्सका नाममा विभिन्न किसिमको बहाना बनाई निजी प्रयोजनका गाडीले भाडाको सवारी साधनको काम गरिरहेको भन्दै २७ फागुनमा यातायात व्यवस्थापन विभाग महानिर्देशक गगनबहादुर हमाललाई ध्यानाकर्षण गराउँदा दुवै संस्थाले लिखित माइन्युटिङ लिई निजी प्रयोजनको रातो प्लेटको गाडीले भाडाको काम गर्नुहुन्न भन्ने सहमतिको आधारमा पर्खेको बताए । २८ गते भौतिक मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर मागबारे जानकारी गराइएको सुनाए ।

 

अखिल नेपाल यातायात मजदुर संघ अध्यक्ष उपत्यका ट्याक्सी अध्यक्ष सुर्य तामाङले ट्याक्सी व्यवसाय मात्र नभई व्यवसायी नै असुरक्षित बनाइएको बताए । विरोधका क्रममा कलंकीमा हातपात गरिएको र ठाउँँ ठाउँमा आक्रमण भएको बताए । १३ बुँदे माग पूरा नभए आन्दोलनमा जानुको विकल्प नभएको बताए



प्रतिक्रिया दिनुहोस्