Logo

सरकारका कारण हामी मनोवैज्ञानिक रुपमा हारेको अवस्थामा छौं : पूर्व गभर्नर क्षेत्री



काठमाडौं, ३० फागुन । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सरकारका कारण नेपाली जनता मनौबैज्ञानिक रुपमा पनि कमजोर र हारेको अवस्थामा पुगेको टिप्पणी गरे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘स्वास्थ्यमन्त्रीले अब कोरोना प्रभावित अब आफैं क्वारेन्टाईनमा बस्नुपर्छ, सरकारले केही गर्न सक्दैन् भनेर बोलेपछि हामी मनोवैज्ञानिक रुपमा पनि हारेको अवस्थामा छौं ।’ त्यस्तै, उनले नेपालको अर्थतन्त्रमा पनि कोरोनाले ठूलो असर गरेको सुनाए । उनले भने,‘रिटेल व्यापर छैन्, ग्राहक नै नभएपछि व्यापार कसरी हुन्छ ? आयात रोकिएको छ । मन्दी आएको छ ।’ उनले शारिरीक तथा मानसिक रुपमा बलियो हुनुपर्ने अवस्थामा नेपालको परिस्थिति त्यस्तो नभएको टिप्पणी गरे ।

कोरोना एकबाट अर्कोमा सर्ने भएकोले यसको लक्षण देखिनेबित्तिकै उपचारको लागि स्वयम व्यक्तिले सचेतना अपनाउनुपर्नेमा क्षेत्रीको जोड छ । उनले भने,‘सबैले यसको लागि सहकार्य गर्नुपर्छ ।’ सरकार बलियो भएको उल्लेख गर्दै जनताकोलागि राहत कार्यक्रम पनि ल्याउनुपर्नेमा उनको जोड थियो । उनले भने,‘प्रधानमन्त्री रोजगार कार्यक्रममा १२ अर्ब पैसा छुट्याईको छ, १५ खर्बको बजेट ६ महिनापछि गरिएको अर्धवार्षिक समिक्षामा १३ खर्बमा झारिएको छ, त्यही पनि सरकारले साँढे ८ प्रतिशत आर्थिक वृद्धि हुन्छ भनेको छ भनेपछि सरकारको आत्मबल त अझैपनि रैछ नि ।’

उनले तीन तहकै सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उदार नीति लिनुपर्नेमा पनि जोड दिए । उनले भने,‘कोरोनाको सवालमा प्राथमिक रोकथाममा जोड दिनुपर्छ । सरसफाईमा जोड दिनुपर्छ ।’ आर्थिक रुपमा पनि राजश्वको उपलब्धि कमी हुने भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने उनको तर्क छ ।

उनले आजभन्दा १२ वर्षअघि नै सिल्भिया नामका एकजनाले सन् २०२० मा निमोनियाजस्तो यस्तो किसिमको रोग आउने र यसले विश्वभरि माहामारी फैलिने भनेर प्रक्षेपण गरेको सुनाए । उनले भने,‘यसमा कति सत्य छ वा छैन, त्यो अर्को विषय हो, फेरि उनले यो छोटो समयमा आफैं हराएर जान्छ भनेर पनि लेखेका छन् । र, सन् २०३० मा पनि फेरि देखा पर्छ भनेका छन् ।’

उनले विश्वव्यापी रुपमा यो भाईरसबाट चर्चित तथा सरकारी ओहोदामा बसेका नेताहरुसमेत प्रभावित भएको सुनाउँदै नेपालको राजनीतिक वृत्तमा नदेखिएकोले आफूहरु सुरक्षित नै रहेको मान्नुपर्ने तर्क गरे । उनले भने,‘हिजोसम्मको तथ्यांक हेर्दा चार हजार ९ सय मरिसकेका रहेछन्, र १ लाख ३२ हजार त्यसबाट प्रभावित छन् । त्यो प्रभावित हुनेहरुमा, तपाईहरुलाई सुन्दा आश्चर्य लाग्छ, यसले राजनीतिक वृत्तका मान्छेहरुलाई छुँदो रहेछ क्या (बाहिर बाहिरतिर), बेलायतमा स्वास्थ्य राज्यमन्त्रीलाई कोरोना भाइरसले समातेपछि उनलाई आईसोलेशनमा राखिएको छ, क्यानडाको प्रधानमन्त्रीको श्रीमतीलाई यो भाइरस पोजिटिभ देखिएपछि, प्रधानमन्त्री नै अब १४ दिनको लागि गुप्तवास बस्नुपर्ने अवस्था आएको छ, स्पेनमा डेपुटी प्राईम मिनिस्टरको श्रीमतीलाई त्यो रोग लाग्या हुनाले उहाँपनि आईसोलेशनमा बस्दैहुनुहुन्छ भनिएको छ, लक्कीली भनौं कि अनलक्किल्ली भनौं हाम्रो राजनीतिक वृत्तमा यस्तो किसिमका खबरहरु नआएका हुनाले हामी सुरक्षित नै रहेछौं भन्ने कुराहरु मान्नुपर्ने भयो ।’

अहिलेसम्म नेपालमा एकजनाको मात्रै डाईग्नोसिस भएको र उनको उपचार भएर डिस्चार्ज भैसकेको अवस्थामा विश्व स्वास्थ्य संगठनले नेपाललाई असाध्यै ठूलो जोखिममा राखेकोमा उनले केही गुनासो पोखे ।



प्रतिक्रिया दिनुहोस्