Logo

अर्थ समितिमा बीमा विधेयकमाथिको छलफल जारी, आइतबार पुनः दफावार छलफल हुने



काठमाडौं, ३० फागुन । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्रालयले पेश गरेको बीमा सम्बन्धी ऐन–२०७५ को मस्यौदामाथि दफावार छलफल जारी छ ।  दफावार छलफलको क्रममा सबै दफामाथि छलफल नसकिएपछि बाँकी छलफल गर्न आगामी आइतबारको बैठक डाकिएको छ ।

शुक्रबार भएको प्रारम्भिक छलफलमा प्रस्तावित बीमा ऐनको मस्यौदामा रहेका परिच्छेद चारअन्तर्गतको दफा नं ३६ सम्मको छलफल सकिएको छ । बाँकी दफामाथि आइतबार छलफल हुने जनाईएको छ ।

छलफलमा सांसदहरुले बीमितको अधिकारको विषयमा प्रश्न उठाए भने केही संशोधन तथा थपघट गर्नेबारे पनि सहमति भएको छ । मस्यौदामा रहेको क्रम नमिलेको विषय पनि उठेको छ ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राजपाका नेता महन्थ ठाकुर सहभागी भएको बैठकमा बीमा कम्पनी दर्ता प्रक्रियामा छलफल भएको हो । उक्त बैठकमा डा. भट्टराईले खासै सुझाव राखेनन् भने राजपाका नेता ठाकुरले चुप लागेर कुरामात्रै सुनिरहे ।

सरकारले बीमा नियमन एउटै ऐनमार्फत गर्ने भन्दै उद्देश्यअनुरुप संसदमा बीमा ऐन विधेयक प्रस्तुत गरेको हो । ऐनमाथि दफावार छलफल तथा नीतिगत छलफल अझै केही जारी रहने अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बताए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्