Logo

कोरोना नियन्त्रणका लागि कुन देशले कति रकम खर्च गर्दैछन् ?



फागुन ३०, काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि विभिन्न देशहरुले मोटो रकम खर्च गर्ने भएका छन् । कोरोनाकै कारण विश्व अर्थतन्त्रमै ठूलो धक्का लाग्ने भएपछि शक्तिशाली देशहरु खर्च गर्न तयार भएका हुन् । आफ्नो अर्थतन्त्र जोगाउन विभिन्न आर्थिक प्याकेज सार्वजनिक गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्ध लड्न ८ अर्ब ३० करोड डलरको आपतकालीन खर्च विधेयकमा हस्ताक्षर गरेका छन् । उनले कोरोना भाइरस नियन्त्रण र यसको खोप पत्ता लगाउनका लागि सो रकम खर्च गर्न दिने निर्णय गरेका हुन् ।

अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भ बैंकले पनि अर्थतन्त्रलाई टेवा दिन ब्याजदर शून्य दशमलव ५ प्रतिशत अंकले घटाउने निर्णय गरेको थियो । फेडेरल रिजर्भले सन् २००८ को वित्तीय संकटपछि पहिलोपटक आपतकालीन रुपमा ब्याजदर घटाउने निर्णय लिएको हो । कोरोना भाइरसको उद्गमस्थल चीनले कोरोना भाइरससँग लड्न १५ अर्ब १९ करोड डलर बराबरको रकम खर्च गर्ने बताएको छ । चीनले अर्थतन्त्रमा यसको असर कम गर्न अझै सहयोग बढाइरहेको छ ।

चीनको केन्द्रीय बैंकले पनि अर्थतन्त्रमा सहयोग र्पुयाउन ब्याजदरमा केही कटौती गरेको थियो । जापानले पनि अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने भयको कारण ४ अर्ब डलरको दोस्रो योजना ल्याएको छ । यूरोपेली संघ (ईयू) ले पनि कोरोना भाइरसका विरुद्धमा २८ अर्ब डलरको आर्थिक सहायता कोष ल्याउने तयारी गरिरहेको छ ।

कोभिड–१९ विरुद्ध लड्न जर्मनीले पनि सार्वजनिक क्षेत्रको लगानी सन् २०२४ सम्ममा १२ अर्ब ४० करोड यूरो बढाउने निर्णय गरेको छ । उसले कम्पनीहरुलाई काम गर्ने समय घटाउँदै कोरोना भाइरसको नियन्त्रणका लागि सहुलियत प्रदान गर्ने भएको छ । बैंक अफ इंगल्याण्डले कोरोना भाइरसको प्रभाव न्यूनीकरणका लागि ब्याजदर शून्य दशमलव ५ प्रतिशत अंकले घटाउने निर्णय गरेको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले पर्याप्त मौद्रिक तरलता प्रवाह गर्ने योजना अघि सारेको छ । कोरोना भाइरसका कारण देशको आर्थिक वृद्धि सुस्त रहने अनुमान भइरहेको अवस्थामा भारतले यस्तो योजना अघि सारेको हो । कोरोना भाइरसबाट चीनपछि सबैभन्दा प्रभावित बनेको मुलुक इटालीले भाइरसविरुद्ध लड्न ७ अर्ब ५० करोड यूरो खर्च गर्ने योजना बनाएको छ ।

उसले मुलुकको बजेट घाटा पनि २ दशमलव २ प्रतिशतको अहिलेको लक्ष्यभन्दा बढी २ दशमलव ५ प्रतिशत पुग्ने बताएको छ । क्यानडाका अर्थमन्त्री बिल मोर्नोले कोरोनासँग लड्नका लागि आवश्यक आर्थिक सहायता उपलब्ध गराउन आफूहरु तयार रहेको बताएका छन् । दक्षिण कोरियाले भाइरससँग लड्न ९ अर्ब ८० करोड डलरबराबरको आर्थिक सहायता प्याकेज अघि सारेको छ । अष्ट्रेलियाले कोरोनाविरुद्ध लड्न ११ अर्ब ४० करोड डलर बराबरको आर्थिक सहायता कोष सार्वजनिक गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot