काठमाडौं, चैत १ । आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ ।
वैद्यखानाका वरिष्ठ चिकित्सक तथा प्रबन्ध निर्देशक वंशदीप शर्मा बजारमा पाइने अनेक ब्रान्डका औषधिको भरपर्नुभन्दा घरमै उपलब्ध जडीबुटीले मानिसमा प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउन सक्ने बताउन्छन । पूर्वीय सभ्यताबाट निर्देशित आम नेपालीका घरमा विविध जडीबुटी पाइने भए पनि त्यसको सही उपयोग गर्ने बानी छैन ।
चिकित्सक शर्माका अनुसार गाउँघरतिर प्रयोग हुने जडीबुटीको प्रयोगमा चेतना जगाउनुपर्छ । उनले सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाइको पात, कालो जिरा, बेसार लगायत स्थानीय रूपमा पाइने जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सकिने बताए । । यदि यी कच्चा पदार्थ सहजै उपलब्ध नभएको खण्डमा यिनै जडीबुटीका तìव समावेश गरिएका औषधि वैद्यखानामा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो तर तिनको उपयोग गर्न चिकित्सकको सल्लाह लिनुपर्छ । त्योभन्दा बढी जनमानसमा लाभकारी र सहज रूपमा उपलब्ध हुने कच्चा जडीबुटीलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड रहेको छ ।
शर्माले आँगनमै उपलब्ध तुलसीको पातसँग असुरो पात, थोरै बेसारका साथमा एक टुक्रा चन्दनको टुक्रा मिसाएर घरमै उमालेर बिहान बेलुका एक÷एक कप खाने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढ्छ, जुन ताजा हुन्छ र त्यसले दिने शक्ति शरीरले सहजै लिने बताए । यदि भाइरल लागिसकेको अवस्था छ भने पनि त्यसले भाइरलको मात्रा घटाउन ठूलो मद्दत गर्छ ।
देखासिकी जङ्क फुड खाँदा, रहनसहनबाट प्रभावित हुँदा छिटो सङ्क्रमणले छुन्छ । आफ्नै प्राकृतिक र स्वदेशी जीवनशैलीले मानव स्वास्थ्य बलियो बनाउन सकिने कुरा वैद्यखानाका विज्ञले स्पष्ट पारेका छन् ।गोरखापत्र दैनिक