Logo

तेलको मूल्य घटेर १२ वर्षयताकै कम हुँदै



एजेन्सी, १ चैत्र । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारल २५ डलरमा पुग्ने अवस्था बनेको छ । तेल उत्पादक मुख्य देश रुस र साउदी अरेबियाबीचको तेलयुद्धले मूल्य ह्वात्तै घट्ने अवस्था बनेको हो ।

कोरोना भाइरसका कारण विश्वभर आर्थिक मन्दी आइरहँदा तेल उत्पादक देशहरुले उत्पादन घटाउन रुसलाई आग्रह गरेपनि उसले अस्वीकार गरेको थियो । रुसले उल्टै उत्पादन बढाइदियो । जवाफमा साउदीले पनि उत्पादन ह्वात्तै बढाउन तिर लागेको छ । अब अप्रिलमा तेलको मूल्य घटेर प्रति ब्यारल २५ डलर पुग्ने अनुमान गरिएको छ । यो सन् २००८ मा विश्वमा आर्थिक मन्दी आउँदाको जत्तिकै कम मूल्यको हो ।

साउदी अरेबियाले प्रति ब्यारल २५ डलर बनाएर रुसको तेल खरिद गर्दै आएका चीन र भारतलाई समेत बेच्ने रणनीति बनाएको छ । अहिले रुसले प्रति ब्यारल ३५ डलरमा तेल विक्री गर्दै आएको छ ।

अप्रिलसम्म रुसले प्रति दिन दुई लाख ब्यारल तेल बढी उत्पादन गर्ने तय गरेको छ । साउदी अरेबियाले वृद्धि गरी प्रति दिन २६ लाख ब्यारल उत्पादन गर्ने तय गरेको छ । उसले २५ देखि २८ डलर प्रति ब्यारलमा तेल विक्री गर्ने रणनीति बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्