Logo

पैसाबाट कोरोना सर्ने सम्भावना बढी



काठमाडौँ, २ चैत । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो ।

यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्युयोर्क युनिभर्सिटीले गरेको एक अध्ययन अनुसार पैसामा पनि ‘सूक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ । चिकित्सकहरूले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् । पैसामा तीन हजारभन्दा बढी प्रकारका कीटाणु जस्तै– भाइरस, ब्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखा परेका छन् । त्यस अध्ययनमा बैङ्कबाट निकालिएको पैसामा आठ प्रकारका ब्याक्टेरिया देखिएका थिए । अध्ययन अनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ ।

विभिन्न किसिमका प्राणघातक सरुवा रोगको ब्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ । अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेसनल’ले प्रमाणित गरिसकेको छ । हेपाटाइटिस सीको स्रोतका रूपमा कोकेनलाई लिइन्छ । यसैगरी दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक ब्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ । मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवाभन्दा पैसा बढी फोहोर भएको परीक्षणका क्रममा पाइएको थियो । कोरोना भाइरसले विश्वव्यापी रूपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ०ले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ ।

पैसामा ब्याक्टेरिया कसरी विकसित हुन्छन् ?

विभिन्न कारणबाट पैसामा ब्याक्टेरियाको फैलावट हुने इन्जिनियर राम बाडेले बताए । पैसाको प्रयोग गर्दा जथाभावी कच्याककुचुक गरी राख्ने गरेमा अझ बढी ब्याक्टेरिया भाइरस फैलने सम्भावना ज्यादा हुन्छ । उनले बताए, “दैनिक रूपमा पैसा एक हातबाट अर्को हात हुँदै अत्यधिक आदानप्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्ने जस्तै हो ।” (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्