Logo

भिडियो कन्फरेन्समा पाकिस्तानले काश्मिरको मुद्दा जोडेपछि…



काठमाडौं, २ चैत्र । पाकिस्तानले कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउनेबारे सार्क सदस्य राष्ट्रका नेताबीचको भिडियो कन्फरेन्समा जम्मु काश्मिरको मुद्दा जोडेको छ । पाकिस्तानी स्वाथ्यमन्त्री जफर मिर्जाले आज साँझ भएको भिडियो कन्फेरेन्समा कोरोना भाइरस नियन्त्रणका लागि काश्मिरमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरे ।

मेडिकल र स्वास्थ्य क्षेत्रमा आपतकाल घोषणा भएको उल्लेख गर्दै मिर्जाले भने, ‘उक्त क्षेत्र (काश्मिर) मा सबै किसिमका प्रतिबन्ध हटाउनुपर्छ ।’ उनले सञ्चार र यात्राले सबैलाई सही सूचना पुग्ने बताए । कोरोनाको विषयमा पाकिस्तानले काश्मिरको विषय उठाएकोमा भारतीय पक्ष असन्तुष्ट भएको बुझिएको छ । रोगसँग लड्नुपर्ने बेलामा राजनीतिक मुद्दा प्रवेश गराउन खोज्नुलाई गम्भीरताका साथ लिइएको छ ।

सबै देशका राष्ट्रपति र प्रधानमन्त्री सहभागी भएको भिडियो कनफरेन्समा पाकिस्तानबाट स्वास्थ्य राज्यमन्त्री मिर्जा सहभागी भएका थिए । उनले निकै संयमित भई बोलेका थिए । सार्कको सक्रियतामा पटक पटक जोड दिए । साझा रणनीति बनाउनेबारे महत्वपूर्ण भूमिका निभाएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सदस्यराष्ट्रका नेताहरुले धन्यवाद दिएपनि उनले त्यसबारे केही बोलेनन् । भिडियो कन्फरेन्सको अन्ततिर बोल्ने क्रममा मात्र उनले मोदीको नाम उच्चारण गरे ।



प्रतिक्रिया दिनुहोस्